२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

छठ वैभवमा मग्न काठमाडौं

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बिहीबार साँझ सूर्यको पूजा गर्दै छठका व्रतालु। तस्बिर: नागरिक

राजनीतिले विभाजित समाजलाई चाडपर्व र संस्कृतिले जोड्दै छ। राजधानीमा छठ पर्व मनाउन भेला भएका पहाडी र मधेसी समुदायबीचको बढ्दो सद्भाव बागमती नदी हुँदै मधेससम्म पुगेको छ। वीरगन्ज होस् या जनकपुर, त्यहाँका नदीकिनार र पोखरीको डिलमा सद्भाव हुर्कंदै छ। त्यसैले होला, मधेस आन्दोलनताका घर छाडेर निस्केका पनि छठका बेला मूलथलो पुग्न थालेका छन्।

राजनीतिले बिथोलेको समाजमा छठलगायत पर्वले मलमको काम गरेकोे काठमाडौं गोठाटारका उत्तम घिमिरेले सुनाए। सात वर्षदेखि बागमती नदी किनारमा छठ मनाउँदै आएका उनले यो सबैको साझा पर्व बन्दै गएको बताए। ‘नदीका दुई किनारमा जम्मा भएका श्रद्धालुले सिंगो समाज जोडेका छन्,’ उनले भने, ‘नदीमा बग्दै गरेको पानीले मनको मयल पखाल्दै छ।’

मुस्लिम समुदायका मानिसले भाइटीका लगाउन थालेका छन्। माघीको थारु नृत्यमा मगर समुदाय रमाउनु पनि सद्भावको झलक भएको उनको बुझाइ छ। उनले भनेजस्तै परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ। एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ।

‘हामी विगत पाँच वर्षदेखि बागमती नदी किनारमा छठ मनाउँदै छौं’, गुह्येश्वरीस्थित बाग्मती किनारमा भेटिएका जनकपुरका नरेश राउतले भने, ‘यस पटक पनि हामी यही ठाउँमा यो पर्व मनाउँदै छौं।’

उनीसँगै छठ मनाउँदै गरेका जोरपाटीका सुरेन्द्र पुडासैनीले अघिल्लो वर्ष छठको रमाइलो हेर्न जनकपुर पुगेको बताए। धनुषामा कारोबार गर्दै आएका पुडासैनीले एकताका जनकपुर आउजाउ गर्नै छाडेको सुनाए। ‘त्यतिबेला राजनीतिले वातावरण बिगारेको थियो, उनले भने, ‘अहिले सबै राम्रो हुँदै छ।’ नदीकिनारमा सबै समुदाय जम्मा भएर सूर्यको पूजा गर्दा मनमन जोडिने उनले सुनाए।

छठको रौनक

केही समयअघि बाढीले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा विध्वंस ग¥यो। त्यतिबेला गुहार–गुहारको चित्कार सुनिएका खोला किनारमा अहिले खुसीको हाँसो सुनिन–देखिन थालेको छ। ‘बाढीले गुह्येश्वरी नजिकको हाम्रो छठ पूजा समितिको कार्यालय नै डुबाएको थियो’, समितिका अध्यक्ष अनिल सिंहले भने, ‘अहिले छठिमैयाँको कृपाले सबै राम्रो भएको छ।’ उनले छठले उपत्यकाका अन्य नदी र खोला किनार पनि उत्सवमय बनेको उनले सुनाए।

यसपटक नदी, खोला र पोखरी किनारमा छठ पूजाका लागि काठमाठौं महानगरपालिकाले बत्तीको व्यवस्था पनि गरिदिएको छ। उसले वडा नं. १ स्थित कमलपोखरी श्रद्धालुहरूको उपासनाका लागि तयार गरिदिएको छ। त्यसै गरी वडा नं. ८ को गौरीघाट, वडा नं. ११ को वंशीघाट, वडा नं. १३ को धौखेल खोला, वडा नं. १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नं. १६ को बालाजु पार्क र वडा नं. ३२ को कोटेश्वर दोभानमा छठ पर्वका लागि आकर्षक बत्तीको सजावट गरिदिएको महानगरले जनाएको छ।

अस्ताउँदो सूर्यलाई बिहीबार अर्घ दिएका श्रद्धालुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने छ। ‘मुलुकमा रहेको सामाजिक सद्भाव कहिल्यै नअस्ताओस्’, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिँदै कन्हैया गुप्ताले भने, ‘समाजमा भाइचाराको सूर्योदय भइरहोस्।

फैलँदै छठ

बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी साघुरिँदै छन्। यिनै नदी तथा पोखरी किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ।

त्यसको झल्को राजधानीका नदी किनार तथा पोखरीमा देखिन्छ। आठ दशकअघि कालीमाटी टंकेश्वरस्थित विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले उपत्यकाका दुई दर्जनभन्दा बढी स्थानमा फैलिएको छ। कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वर, गुह्येश्वरी, कमल पोखरी, नागपोखरीलगायत स्थानमा छठका लागि चिटिक्क पारिएका छन्। ‘गुह्येश्वरीस्थित छठ घाटमा पाँच सय ५० परिवारले पूजा गर्न मिल्नेगरी तयार पारिएको छ,’ अनिल सिंहले भने, ‘अझै ठाउँ नपुगेर धेरैलाई फर्काउनु परेको छ।’

हरेक वर्ष छठ मनाउने संख्या बढ्दो रहेको र पहाडी समुदायले पनि मनाउन थालेको उनले सुनाए। उनले भनेजस्तै विभिन्न समुदायका मानिस नदी किनारमा भेला भएर छठमा रमाउँदै छन्।

छठका लागि बिहीबार कालीमाटी बजारमा प्रसाद किन्नेको पनि निकै घुइँचो देखियो। प्रसादका लागि नरिवल, केरा, ऊखु किन्दै गरेका मधेसी र पहाडी समुदायका श्रद्धालु एकअर्काबीच परिचय आदानप्रदान पनि गरिरहेका थिए।

एक दशकअघि गुह्येश्वरीमा हिन्दु धर्मावलम्बीसँगै केही मुस्लिम समुदायका महिलाले समेत छठ पूजा गरेका थिए। रौतहट घर भई काठमाडौं तिलगंगा बस्दै आएकी जमिला खातुनले आफ्ना पति जुमराती मन्सुरी र छोरा अलाउद्दिनको सुख शान्तिका लागि गुह्येश्वरीमै छठ पूजा गरेर धेरैको ध्यान खिचेकी थिइन्। ‘संख्या मात्र होइन, जातीय सद्भाव पनि बढेको छ,’ अनिल सिंहले भने, ‘छठ अहिले मधेसी, पहाडी सबैको साझा पर्व बनेको छ।’

राष्ट्रपतिबाट छठीमैयाँको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविताका साथ छठी माताको पूजाआराधना गरेका छन्। पौडेलले काठमाडौंको गुह्येश्वरी र कमल पोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार छठी माताको पूजाअर्चना गरेको उनको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेल र प्रथम महिला सविताले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ पनि दिए। राष्ट्रपति पौडेल सुरुमा बागमती नदी किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यसपछि उनी कमलपोखरीमा तयार पारिएको पूजास्थलमा पुगेर छठी माताको पूजाआरधना गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०८१ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App