२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

‘राष्ट्र रक्षार्थ एकता अभियान राष्ट्रियता जोगाउने अभियान’

राष्ट्र रक्षार्थ एकता अभियान, काठमाडौंको आयोजनामा ‘देश चिन्तन २०८१’ – चियापान तथा भेटघाट कार्यक्रम कसैप्रति लक्षित नभएको जनाएको छ।

राष्ट्रप्रति समर्पित नेपाली राष्ट्रवादीहरू माझ  वैचारिक आदानप्रदान तथा भेटघाटलाई प्रोत्साहन गर्न, नेपालको सामाजिक, धार्मिक, राजनीतिक र राष्ट्रिय पहिचानको क्षेत्रमा प्रतिबद्धता जनाउन आयोजित ‘देश चिन्तन २०८१’ चियापान कार्यक्रम कोही कसैप्रति लक्षित नभएको जनाएको हो। राष्ट्र रक्षार्थ एकता अभियानले १४ कार्तिक, २०८१ मा ‘देश चिन्तन २०८१’ चियापान नाम दिएर कार्यक्रम आयोजना गरेको थियो।

राष्ट्र रक्षार्थ एकता अभियानका अध्यक्ष मिरा राणाले जारी गरेको विज्ञप्ति अनुसार कसको छाता कसले ओढ्ने र किन ओढ्ने भन्ने उद्देश्य अथवा रणनीति बुन्ने र निर्णय लिने अथवा नलिने अधिकार व्यक्तिगत भएको जनाउँदै यसका कोही कसैप्रति लक्षित नभई नेपालको चन्द्र–सूर्य अंकित रातो झण्डाको छहारीभित्र रहेर देश र देशवासीको सेवाका गरिएको अभियान भएको स्पष्ट पारिएको छ।

‘राष्ट्र रक्षार्थ एकता अभियानले राष्ट्रहितको लागि नेतृत्व लिने नभई सबै नेपाली राष्ट्रवादी शक्तिहरूलाई एकजुट पार्न समन्वयात्मक भूमिका निर्वाह गर्नु हो । यो देश नेपालको चन्द्र–सूर्य अंकित रातो झण्डाको छहारीभित्र रहेर देश र देशवासीको सेवाका लागि सबै एकजुट हुन्छन् भने नेपालीजनका लागि यो भन्दा खुसीको कुरो हो’, विज्ञप्तिमा भनिएको छ।

पुर्खाको नासो संरक्षण र संवर्द्धन आजको हाम्रो दायित्व, नयाँ पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण हाम्रो एउटै लक्ष्य र उद्देश्य भन्ने नाराका साथ एउटै मञ्चमा उभिएर नेतागण, समाजका अगुवाहरू, र अर्थ, राजनीति, धर्म, तथा संस्कृति क्षेत्रमा सक्रिय राष्ट्रवादी विचारधारा बोकेका महानुभावहरूको राष्ट्रहितका सम्बन्धमा प्राप्त विचारहरू अमूल्य थिए रहेको पनि सो विज्ञप्तिमा भनिएको छ। 

देश आज चरम भ्रष्टाचार, कमजोर अर्थतन्त्र, नैतिकताविहीन राजनीति, र युवाविहीन समाज बनिरहेको यस कठिन समयमा यसबाट मुक्ति पाउन हामी जुट्नसक्छौं, हामी जुरुक्क उठ्न सक्छौँ भन्ने यो सङ्केत भएको र चियापानले  एउटा साझा मञ्च खडा गरेर सबै देशप्रेमीहरुले आफ्नो विचार स्पष्ट राख्न सकुन् भन्ने उद्देश्य राखेको पनि जनाइएको छ।

चियापान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको पनि सो अभियानका अभियान्तहरुकोले जनाएका छन्। ‘उत्साहजनक सहभागिता र प्रस्तुत रचनात्मक विचारहरूबाट हामी उत्साहित छौँ। यो भेला हाम्रो देश नेपालमा राष्ट्रियताको विषयमा गम्भीर चिन्तन आदान–प्रदान गर्न योगदान गरोस् भन्ने उद्देश्यले आयोजन गरिएको हो’, अयक्ष राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण राष्ट्रवादी शक्तिहरू “जतिबेला देशलाई खाँचो पर्छ, सबैको एकमत–एक स्वर हुनेछ” भन्ने सन्देश दिनु हो।

कोही एकको अभिष्ट अथवा योजनालाई मलजल गर्ने अथवा पृष्टपोषण गर्ने भेलाको रणनीतिक अथवा वैचारिक उद्देश्य कदापी होइन। यो भेला न २०८४ को तयारी हो, न यो कुनै एक व्यक्ति अथवा विचारको रणनीतिक मञ्च हो । जहाँ बोलिएका, अथवा प्रस्तुत गरिएका व्यक्तिगत बिचारहरूलाई “राष्ट्र रक्षार्थ एकता अभियान”को बिचार भनेर व्याख्या गर्नु ‘साझा मञ्च’ जस्तो प्रकृतिको अवधारणालाई बङ्ग्याउनु हो अथवा नबुझ्नु हो।’

अभियानको  क्रममा देशको समग्र प्रगतिको यात्रामा हामीले सामना गर्नुपरेको अवरोध, अस्थिर राजनीति, उग्र भ्रष्टाचार, धर्म–संस्कृति, र राष्ट्रिय एकताको विषयमा एकापसी संवाद हुनु  सकारात्मक भएको पनि अभियान्तहरुले जनाएका छन्। अभियानका महासचिव अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्कीले चियापानले राष्ट्र र राष्ट्रियताको रक्षार्थ सबै पक्ष एकजुट हुनपर्छ भन्ने सन्देश दिएको बताए।

प्रकाशित: २० कार्तिक २०८१ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App