१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा देउसीको मौलिकता हराउँदै

उहिलेको तिहार र देउसीमा गाउँभरिका सबै जम्मा हुने, मौलिक शब्द र परिवेशअनुसारका रचना तयार पारेर भ्याउने गरिन्थ्यो।

विशेष गरी दाजुभाइ र दिदीबहिनीको पर्व दीपावली भएकाले भाइ र बहिनीबीचको प्रेम र सद्भाव झल्किन्थ्यो।घरबाहिर अर्थात् परदेशमा रहेका दाजुभाइलाई सम्झेर देउसी खेल्ने चलन कर्णालीका सबै गाउँ(बस्तीहरूमा व्याप्त थियो।

पहिलेको देउसी जहाँ विशुद्ध मनोरञ्जन, तिहारको रौनक र दाजुभाइ दिदीबहिनीका गाथाहरू, अभाव र सम्झनासहितका शब्द रचेर भ्याउने चलन थियो। कर्णाली भेगमा देउडाका टुक्कालाई देउसीमा भ्याउने चलन पनि थियो, जहाँ मौलिकता मात्रै झल्किन्थ्यो।अहिले भने सामाजिक सद्भाव र संस्कार झल्काउने त्यस्ता देउसी भैलो गाउँघरमा गुन्जिनै छोडेका छन्।

अहिले मादलका ताल र थरी थरी भाकाका देउसी भैलो गीतहरू हराउने अवस्थामा पुगेका छन् । पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो छाउँथ्यो,तर अहिले त खाली हल्ला मात्र भएको महसुस हुने गरेको  ज्येष्ठ नागरिकको बुझाइ छ। 

पछिल्लो पुस्ताका युवाहरूले पनि चाडपर्वका बेला विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोक भाका, भेष भूषाको जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो ठुलो पर्व तिहारमा खेलिने देउसी खेल्ने संस्कार हराउन थालेको हो।

अहिले गाउँको देउसीमा मौलिकता नभएको चन्दननाथ ५ का ४ अमरसिंह नेपाली बताउँछन् । ‘पहिले देउसी खेल्दा त्यस्तो भाका, लय र शब्दले मन छुन्थ्यो। त्यसको महत्त्व छुट्टै थियो,’ उनले भने, ‘ पहिलेका देउसी खेल्नेहरू पैसाका लागि खेल्दैन थिए। अहिले त स्कुलको देउसी, समूहको देउसी, क्लबको देउसी भन्दै चन्दा उठाएजस्तो गर्छन्।’अहिले मौलिक शब्द रचना गरेर देउसी भट्याउन पनि हराएको उनले बताए । ‘बजारमा आएका, कतिपय सुन्नै नसकिने गीत बजाउँछन् । अझै कसै कसैले त हिन्दी गीत बजाएर देउसी खेल्न आएको देखिन्छ,’ उनले भने, ‘अहिलेकाहरूलाई देउसी, तिहार, भाइटिकाको महत्त्वको चिन्ता देखिँदैन।’यस्तै अर्का का ७६ वर्षीय लोकप्रसाद चौलागाईलाई पनि अहिलेको देउसी देउसीजस्तै लाग्दै ।

‘पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो रौनक छाउँथ्यो तर अहिले त खालि हल्ला मात्र भएको महसुस हुन्छ,’ उनले भने,पछिल्लो पुस्ताका सबै युवाले चाडपर्वका बेलासमेत विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोक भाका, भेष भूषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसी संस्कार समेत हराउन थालेको संस्कृतिविद्हरू बताउँछन्।

कसरी सुरु भयो देउसी भैलोको प्रचलन

एक जना राजा थिए, बली भन्ने । उनी अति नै दानी थिए। प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे। उनको यो पुण्यको कामले ठुलो ख्याति पायो। उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले।त्यसपछि देवताहरू भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि। विष्णुले वामन (बाहुन्ने) को रुप धारण गरे बलीलाई छल्न पुगे। र, तीन पाउ जमिन दानको याचना गरे।बलीले सोचे, ‘यो ब्राह्मण सानो छ र यसको पाउ पनि साना छन्। 

उनले थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे। लगत्तै वामनको रुप विराट भय । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे। उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, वर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस्।यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए। अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ।देउसेहरु बली राजा आउन नभ्याएको। आफूहरू बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भ्याउने गर्छन् ।

प्रकाशित: १७ कार्तिक २०८१ १७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App