चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पूजा र संगीतमय कथा बाचन जारी रहेको छ।
लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप आज पनि गौ पूजा गरिएको हो।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा बिहीबार देखी वागेश्वरीमा गौ पूजा सुरु भएको हो। आज (शुक्रबार) दोस्रो दिन भएको कार्यक्रममा गौ आरती, गौ पूजा र संरक्षकलाई सम्मान समेत गरिको थियो। भोलि (आइतबार)सम्म जारी रहने गौ पूजामा विभिन्न अतिथि तथा दर्शनार्थीको उपस्थित हुँदै आएको छ। आज वागीश्वरीका प्रमुख संरक्षक श्रीसनाथ योगीको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उनले गाईको संरक्षण र पूजा गर्नाले आफूलाई आइपर्ने समस्याहरू हटेर जाने बताए। स्थानीय जातका गाईलाई संरक्षण गर्न उनले सम्पूर्णमा आग्रह समेत गरेका छन्।
योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका सल्लाहकार टंकनाथ पौडेलले विगतदेखि गौ संरक्षणमा लागेका व्यक्तिहरूलाई धन्यवाद दिएका छन् । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय ५० पुगेका हुन्। गौ पूजनको अवसरमा गाई पालनका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। यहाँ गाई संरक्षणका लागि एक करोडको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ।
गाई संरक्षणका लागि ९ जना कर्मचारी समेत राखिएको छ। गाई पालनका लागि मासिक ६ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। आजीवन सदस्य, पराल तथा दाना दाताबाट गाई पालनमा सहज भएको उनले बताए। गौ संरक्षणका लागि एक करोडको अक्षय कोष बनाउने लक्ष्य समेत राखिएको थियो। यस अभियानलाई सहयोग गर्न संयोजक ढकालले सम्पूर्णलाई आग्रह समेत गरेका छन्।
प्रकाशित: १६ कार्तिक २०८१ १६:४५ शुक्रबार