मोरङका छुट्टाछुट्टै स्थानमा एकजना महिला र एकजना पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार पुरुषको शव विराटनगरमा फेला परेको छ भने महिलाको शव कानेपोखरीमा फेला परेको छ।
विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान साढे ७ बजेतिर मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन।
स्थानीयले बिहान सडक छेउमा मृत अवस्थामा देखेर खबर गरेपछि पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा मृत फेला व्यक्ति बजारमा मागीखाइ हिँड्ने गरेको खुलेको डिएसपी जोशीले बताए। मृतको थप पहिचान खोज्ने र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको प्रहरीले जनाएको छ।
त्यस्तै, कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा आफ्नै घरभित्र मृत अवस्थामा नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
घरमा सुतिरहेको अवस्थामा मंगलबार साँझ पौन ६ बजेतिर महिलालाई मृत फेला पारिएको र घटनास्थल सुरक्षित राखिएको डिएसपी दाहालले बताए।
उनका अनुसार मृतककी छोरी बाहिर रहेकी हुँदा छोरी आएपछि शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने जानकारी छ।
महिलाको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८१ १०:२७ बुधबार