१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

खोकनाका किसानलाई धान भित्र्याउने चटारो: उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धान बाली भित्र्याउने चटारो छ।

मंसिर लाग्न नपाउँदै धान बाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यति बेला व्यस्त छन्।

मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समय अगावै पाकेकाले खोकनाका किसानहरू तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन्। खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन्।ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरू कृषिमा आश्रित छन्।

तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धान खेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन्। सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरे पनि समयमा बीउ सरकारले दिन छाडेको गुनासो गरे। किसानहरूले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरूमा तिहारपछि धान बाली भित्र्याउने गर्दथे।

यो वर्ष समय अगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन्। ललितपुर खोकनाका किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताए। उनले विगतमा प्राङ्गारिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताए।उनले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेती गर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गरे।

ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताए। उनले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको धारणा राखे।

ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादनमा कमी आएको बताए।रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको उनको भनाई छ। ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको जानकारी दिए।

समय अगावै धान पाकेकोले अहिले भक्तपुर,ललितपुर र काठमाडौंका किसानले धान बाली काटिसकेका छन्।दसैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ। 

प्रकाशित: १२ कार्तिक २०८१ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App