१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

चुलियो भक्तपुर बहुमुखी क्याम्पस र नगर पालिकाबिचको विवाद

भक्तपुर नगरपालिका र भक्तपुर बहुमुखी क्याम्पसबिचको विवाद चुलिएको छ । क्याम्पस र क्याम्पससँग जोडिएको ऐतिहासिक भाज्या पुखु (पोखरी) को सीमा विषयमा विवाद भएको हो।

भक्तपुर नगरपालिकाले क्याम्पसले ओगटेको  पोखरीको जग्गा खाली गरिदिन वर्ष दिनदेखि आग्रह गर्दै आएको थियो। तर यस विषयमा क्याम्पसले कुनै सुनुवाइ गरेन। यसै कारण नगरपालिकाले कार्तिक ७ गते बुधवार डोजर लगाएर सीमाको संरचना भत्काइदिएको थियो। यसपछि विवादले सतही रुप लिएको हो।

नगरपालिकाले शुक्रबार दुई पृष्ठ लामो प्रेस विज्ञप्ति प्रकाशित गरी वर्षौँदेखि पोखरीको चर्चेको सीमा छोडिदिन आग्रह गरे पनि बेवास्ता हुँदै आएको आरोप लगाएको छ। पटक पटकको अनुरोधलाई बेवास्ता गरेकाले तीन दिनको म्याद राखेर अन्तिम पटक पत्राचार गरेकोमा त्यसको पनि सुनुवाइ नभएकोले बाध्य भएर क्याम्पसको पर्खालको सीमा भत्काइ दिनुपरेको जनाएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम गोविन्द श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भक्तपुर नगरपालिकाको पत्रलाई बेवास्ता गरी बसेको कारण बाध्य भएर भत्काउनु परेको यथार्थ जानकारी गराउँदै भत्काउन प्रयोग भएका डोजर र जनशक्तिको समेत नियमानुसार क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइने नै छ।’ विज्ञप्तिमा चेतावनी दिँदै अगाडि लेखिएको छ, क्याम्पस प्रमुख जस्तो पदमा बस्ने व्यक्तिले नगरपालिकामाथि गलत र झूठो लाञ्छना लगाउनु उनको अयोग्यताको परिचय हो। जिम्मेवार पदमा बस्नेहरूले जिम्मेवारीपूर्वक बोल्न र व्यवहार गर्न सिक्न पनि सचेत गराइन्छ।’

भाज्या पुखु र भक्तपुर क्याम्पस दुवै जनताको सम्पत्ति भएको र  नगरपालिकाको मापदण्ड मिचेर जबरजस्ती सम्पदा मास्ने कार्यलाई नगरपालिकाले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ । क्याम्पसको सुरक्षा र सम्पदाको संरक्षण समेतलाई ध्यान दिएर नगरपालिकाले पर्खालको नक्सा र लगत.इष्टमेट समेत स्वीकृत गरिसकेको समेत सर्वसाधारणलाई जानकारी दिन चाहन्छौ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि शुक्रबार नै भएको एउटा सार्वजनिक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तीन दिनको म्याद राखी अन्तिम पटक नगरपालिकाले डोजर लगाई भत्काउनुपरेमा त्यस बापतको डोजरको भाडासमेत तिर्नुपर्ने भनी चिठी पठाउँदा पनि कुनै सुनुवाइ नभएको सार्वजनिक जानकारी गराए थिए।

यसअघि जबरजस्त डोजर लगाएर पर्खाल भत्काइदिएकै दिन कार्तिक ७ गते बुधवार अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस समितिबाट जबरजस्ती क्याम्पसको संरचना भत्काइदिएको भन्दै विरोध जनाएको थियो। साथै त्यसको भोलिपल्ट कार्तिक ८ गते बिहीबार भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.कविता लुइँटेल भट्टराईबाट जारी प्रेस विज्ञप्तिमा जबरजस्ती सीमाको पर्खाल भत्काइएको मात्रै नभई त्यस क्रममा आफूले विरोध गर्दा आफूमाथि दुर्व्यवहारसमेत भएको भन्दै विज्ञप्ति प्रकाशित गरेकी थिइन्।

भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरकै पुरानो सरकारी क्याम्पस हो भने भाज्या पुखु झन्डै आठ सय वर्ष पुरानो देशकै ऐतिहासिक पोखरी हो । काठमाडौँको रानीपोखरी भन्दा पुरानो यो पोखरीलाई भक्तपुर नगरपालिकाले २०८० फागुन २५ गतेबाट सुरु गरी पोखरीको चारै दिशाका डिलहरू खोल्न पहल थालेको थियो। त्यस क्रममा क्याम्पससँग जोडिएको पोखरीको उत्तर तिरको डिल खोल्न डोजर चलाइएको हो।

प्रकाशित: ९ कार्तिक २०८१ २०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App