१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहमा कर्मचारी अभाव

उदयपुर – उदयपुरका कतिपय स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी सामायोजन हुन नसक्दा काम गर्न कठिनाई हुँदै आएको छ । स्थानीय पुनर्संरचना भएर सञ्चालनमा आएको वर्षदिन बित्न लाग्दासम्म पनि कर्मचारी समायोजन नगरिँदा स्थानीय तहहरुका कामकाज प्रभावित हुँदै आएको हो। 

गत असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सञ्चालनमा आएको ९ महिना नाघिसके पनि जिल्लाका अधिकतर गाउँपालिका र नगरपालिकाकाहरुमा आवश्यक्ता अनुसार कर्मचारी समायोजन नहुँदा वडा कार्यालयहरु प्राविधिक सहायकको भरमा चलाउनु परेको छ। समायोजन नगरिएकै कारण लोकसेवा आयोग उत्तिर्ण नायव सुब्बाको दरबन्दी स्वीकृत वडाहरुमा साविक गाउँविकास समितिमा नियुक्त भई स्थायी भएका सहायकस्तर चौथो तहका प्राविधिक सहायक (प्रास) बाट काम चलाउनु परिरहेको छ। 

४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरका सबै स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसार कर्मचारी समायोजन हुन सकेको छैन । समायोजन अभावमा आधाभन्दा बढी वडासचिवको भूमिका तत्कालिन गाविसका प्रासहरूले निभाउनु परेको छ । जिल्लाका ७५ वडामध्ये झण्डै आधाजसोमा दरबन्दी अनुसार वडासचिव नभएको पाइएको छ। भएकाहरू कतिपयले २ वटा वडाको काम भ्याउनुपरेको छ भने कतिपय वडाको जिम्मेवारी प्रासहरूले लिएर काम चलाउ गर्दै आएका छन्। 

पहाडी गाउँपालिकाहरू ताप्ली, रौतामाई र उदयपुरगढीका वडाहरू सचिव दरबन्दी रिक्त रहेका कारण वडासचिवको जिम्मेवारी प्रासले निभाउँदै आएका छन्। त्यस्तै कटारी नगपालिकाका, चौदण्डीगढी र बेलका नगरपालिकाका वडाहरू पनि कतै प्रासबाट त कतै एकजनाले दुईवटा वडासचिवको जिम्मेवारी निभाईरहनुपरेको छ। चौदण्डीगढी नगरपालिकामा स्वीकृत ६३ दरबन्दीमध्ये आधाभन्दा बढी करार र स्थानीय नियुक्तिका कर्मचारीबाट काम चलाउनुपरेको मेयर खगेन्द्र राईले बताए । उनका अनुसार स्थानीय तह पुनर्संरचना गर्नुअघि कार्यरत गैरसरकारी संघसंस्थामा कार्यरत कार्यक्रम अवधि सकिएपछि (फेजआउट) का करार कर्मचारीलाई जिल्ला समन्वय समितिले नगरपालिकाहरूमा पठाएकाले तिनीहरूलाई नै कतिपय कामको जिम्मेवारी सुम्पनु परेको छ। 

अर्को बेलका नगरपालिकामा दरबन्दी अनुसार वडासचिव नहुँदा एउटै सचिवलाई दुईवटा वडाको जिम्मेवारी दिएर काम लगाउनु परेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावमा साविक गाविस सचिवहरुलाई दुईवटा वडाको जिम्मेवारी दिएर काम लगाउनु परेको मेयर दुर्गाकुमार थापाले बताए। उनका अनुसार बेलका ४ र ९ नम्बर वडाको जिम्मा एकलाई र ५ र ६ नम्बरको कामकाज एकजनालाई दिइएका छ। 

अन्यको तुलनामा सदरमुकाम त्रियुगा नगरपालिकामा भने कर्मचारीको त्यति खाँचो छैन । नगरपालिकाका सामान्य प्रशासन शाखा अधिृकत एकवहादुर राउतले प्राविधिक कर्मचारीबाहेक अन्य कर्मचारीको खाँचो त्यत्ति महसुस नभएको बताए। तत्कालिन जिविसका गैसस कर्मचारीहरू नगरपालिकामा हाजिर हुन आएका तथा अन्य आवश्यक कर्मचारीको पनि आधाजस्तो संख्यामा करार नियुक्ति दिएर नगरपालिकाको कामकाजलाई चुस्त पारिएको राउतले बताए। वडागत प्राविधिकतर्फ कर्मचारी अभाव भएको र केही कानुनी अवरोध हटाएर पदपूर्ति गर्ने योजना रहेको राउतले सुनाए। 

कर्मचारी समायोजन हुन बाँकी रहेका कारण कतिपय विषयगत कठिनाईहरु भने स्थानीय तहमा आइपरेको छ। नयाँ संरचना अनुसार नयाँ कानुन र नियमावली बनाएर अघि बढ्नुपर्ने भएकाले कर्मचारी समायोजनदेखि योजना कार्यान्वयनसम्मका कठिनाईहरू स्थानीय तहहरूले भोग्नुपरेको जनप्रतिनिधिहरु बताउँछन्। 

प्रकाशित: २३ चैत्र २०७४ १५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App