२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। उनले विज्ञप्ती मार्फत पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास गरेका छन्। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले  बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गरेका छन्।

दसैं पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। शुभकामना सन्देशमा उनले भनेका छन् , “हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच रहेको मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महìवपूर्ण योगदान गरिरहेका छन्।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले दसैँको शुभकामना दिँदै यस पर्वले नेपालीबिच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित भएको जनाएका छन्।व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न विजयादशमीले सघाउ पुग्ने उपराष्ट्रपति यादवको विश्वास छ।

उनको सन्देशमा भनिएको छ, “विजयादशमीले सम्पूर्ण मानव जातिलाई अन्याय, अत्याचार तथा असत्यको मार्ग छाडेर सदैव न्याय, सदाचार र सत्यपथमा हिँड्न उत्प्रेरित गर्न सकोस्। यो पर्वले समाजमा चेतनशीलता र सजगता ल्याउँदै सबैलाई मन वचनबाट सुकर्म गर्न र मस्तिष्क हृदयबाट कुविचार परित्याग गर्न सघाउ पुगोस्।”

प्रकाशित: २४ आश्विन २०८१ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App