६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ। हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्। उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो।

मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए।

सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ। यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ। यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ।

प्रकाशित: २२ आश्विन २०८१ १६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App