२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अब चिठी होइन, चिजबिज पठाउँछ हुलाक

‘एक पालिका, एक हुलाक’ बनाउने पहिलो जिल्ला बन्यो म्याग्दी

जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङ गलकोटस्थित आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाए। अर्का सेवाग्राहीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै मोबाइल फोन कुरियर गरिदिए। कुनै समय एक ठाउँको खबर अर्को ठाउँमा पुर्‍याउने भरपर्दो माध्यमको रूपमा रहेको हुलाक कार्यालयबाट पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि विद्युतीय उपकरण पठाउने गरिएको छ।

पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रूपान्तरित सेवा अन्तर्गत ई–कमर्सको अवधारणाको प्रयोगसँगै नेपाल सरकारले गैरकानुनी घोषित नगरेको बाहेक खाद्यान्न सामग्री लत्ताकपडा, मोबाइल, औषधिलगायत मालसामान पठाउने गरेको छ।

‘किचनदेखि व्यक्तिगत प्रयोग हुने सामान पठाउने गरिन्छ, अहिले चिठीपत्र मात्रै होइन सामान ढुवानीको माध्यम पनि हुलाक बनेको छ,’ कार्यालय प्रमुख रमेश अधिकारीले भने।

विगत आधा दशकअगाडिसम्म हुलाकमा व्यक्तिगत चिठीबाहेक सरकारी चिठीपत्र, अदालती कागजपत्र तथा विदेश जाने युवाहरूको कागजपत्रहरूको ओसारपसार धेरै हुने भए पनि अहिले सेवा विस्तार भएपछि निजी कुरियर सेवा प्रयोग गर्ने सर्वसाधारणले हुलाकबाटै सेवा लिने गरेका छन्।

कार्यालय प्रमुख अधिकारीका अनुसार सस्तो र छिटो पुग्ने, हराउने सम्भावना न्यून हुने भएकाले व्यक्तिगत चिठीभन्दा पनि सामान ओसारपसार तथा विदेश जानका लागि द्रुत डाँक सेवा (इएमएस सेवा)का लागि मानिसले हुलाकको प्रयोग गर्ने गरेको बताए।

‘हुलाकलाई चिठी आदानप्रदानको माध्यम मात्रै सम्झिने गरिन्छ, यहाँबाट दैनिक जीवनमा प्रयोग हुने सबै सामान कम खर्चमा आफ्नो परिवारलाई सामान पठाउन सकिन्छ,’ प्रमुख अधिकारीले भने।

हुलाकबाट सामान पठाउँदा र मगाउँदा पनि निजी कुरियरभन्दा धेरै सस्तो र सहज हुने भएकाले एकपटक सेवा लिएर हेर्नसमेत प्रमुख अधिकारीले अनुरोध गरेका छन्। नेपाल सरकारले हुलाकको संरचना परिवर्तन गर्ने निर्णयको देशभर पहिलो पटक म्याग्दीमा कार्यान्वयन भएको थियो।

म्याग्दीमा बेनी नगरपालिकाबाहेक पाँच पालिकामा २४ घण्टामै एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिएको प्रमुख अधिकारीको भनाइ छ। अन्य जिल्लामा नयाँ संरचना लागु गर्न निकै सकस भइरहेको छ भने म्याग्दीमा स्थानीय तहले नै सघाएपछि सहज भएको थियो।

म्याग्दीबाट नेपालका जुनकुनै ठाउँमा पनि नजी कुरियर कम्पनीले भन्दा तीनगुणा सस्तोमा दुईतिन दिनभित्र सामान पठाउन सकिन्छ। विदेशबाट पठाएको समान पनि दुई साताभित्र नै घरदैलोमै पुग्ने र सामान कहाँ पुगेको छ भनेर ट्राकिङसमेत गर्न सकिने भएकाले अहिले हुलाकबाटै सेवा लिनेको संख्या बढ्दै जान थालेको छ।

गत वर्ष म्याग्दीबाट चिठीपत्रसहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएको सूचना अधिकारी सम्झना भण्डारी बानियाँको भनाइ छ। यसै साता १५०औं विश्व हुलाक दिवस मनाउने क्रममा व्यक्तिगत, सरकारी चिठी आदानप्रदान मात्रै नभई थपिएका सेवाबारेसमेत प्रचारप्रसार गरिने सूचना अधिकारी बानियाँको भनाइ छ।

जिल्ला हुलाक कार्यालयले छिमेकी बागलुङ, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको ताकमसम्म सवारीसाधनकै प्रयोग गरी सेवा दिने गरेको छ।

सोमबार १५०औं विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको प्रविधिको फड्कोसँगै दु्रत सूचना प्रविधिलाई समेत पछ्याउँदै गएको हुलाकले अहिले प्रदान गरेको सेवालाई समुदाय स्तरमा पु¥याउन जिल्लाभर सबैको सक्रियता आवश्यकता रहेको बताए।

स्थानीय तह, संघसंस्थासहित व्यक्तिगत सक्रियता बढाउँदै आधुनिक सेवाबारे जानकारी मात्रै पाए पनि सेवा लिनेको संख्या अहिलेको तुलनामा दोब्बर बढी हुने अध्यक्ष पौडेलको भनाइ छ। हाल म्याग्दीमा अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी एक र हल्कारा २६ जना कार्यरत छन्।द

प्रकाशित: २२ आश्विन २०८१ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App