२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीपीडितका लागि कोरियाद्वारा एक करोड सहयोग

फाइल।

गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढपहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत १० करोड कोरियन वोन (एक करोड) उपलब्ध गराएको छ।

नेपालस्थित कोरियाली दूतावासका अनुसार रेडक्रसले २ अक्टोबरदेखि राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान पनि घोषणा गरेको छ। सङ्कलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ।

यसैबीच गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो थेयलले गत सोमबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालमा आएको भीषण बाढीपहिरोले गराएको आर्थिक तथा मानवीय क्षतिप्रति गहिरो समवेदना सन्देश पठाएका थिए।

परराष्ट्रमन्त्री छोले सन्देशमा नेपालमा भर्खरै परेको अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ व्यक्तिले ज्यान गुमाएको दुःखद् घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गरेका थिए।

साथै, उनले मृतकहरुप्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरुप्रति कोरिया सरकारको तर्फबाट सहानुभूति प्रकट गरे।

त्यसैगरी, नेपालको बाढीपीडितका लागि आवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि सन्देशमा उल्लेख गरिएको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ।

नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यसवर्ष विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदानप्रदान गरेका छन्।

प्रकाशित: २१ आश्विन २०८१ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App