२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुडिरहेको यात्रुबाहक माइक्रो र बसमाथि ढुङ्गा खस्दा पाँचजना घाइते

मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको यात्रुबाहक माइक्रोबस र बसमाथिबाट खसेको ढुङ्गा लागेर पाँचजना घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिङ नारायणगढ सडकखण्डको टोपेखोलामा गयराति करिब ८ः १५ बजे काठमाडौंबाट बर्दिया तर्फ जाँदै गरेको ना ७ ख २७४५ नं.को बस र काठमाडौंबाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र.०६–००१ज ०२३६ नं.को माईक्रोमा माथिबाट ढुङ्गा झरेर लाग्दा पाँचजना घाइते भएका हुन्।

घाइते हुनेमा दुबै सवारीसाधनमा सवार यात्रु रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

घाइते हुनेमा बर्दिया गेरुवा गाउपालिका–४ की ४० वर्षीया प्रेमकला थापा, गेरुवा गाउपालिका–३ का विकाश शर्मा, ३० वर्षीया गीता पाण्डे, मुगु खत्याड गाउँपालिका–८ का ३७ वर्षका हिरामणी सञ्जेल र मोहन सञ्जेल रहेका छन्।

उनीहरूको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

यस्तै सोहि स्थानमा काठमाडौबाट उदयपुर तर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७०२३ नं.को बसमा समेत माथिबाट खसेर ढुङ्गा लागेको थियो। तर, मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

ढुङ्गाले बस र माईक्रोमा समेत क्षति पुगेको छ। हाल दुवै सवारी साधन गन्तव्य स्थान तर्फ गएको उनले जानकारी दिए।

प्रकाशित: २० आश्विन २०८१ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App