१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अवरुद्ध मेची राजमार्ग झनै जोखिमपूर्ण, मर्मत रोकियो

जोखिमयुक्त रहेको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड। भीम/नागरिक

अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम स्थगित गरिएको छ। राजदुवाली–गोलाखर्क खण्ड मर्मत गर्दा माथिबाट पहिरो आएर झनै जोखिम बढ्ने भएपछि काम रोकिएको हो।

शुक्रबार मर्मत गर्ने क्रममा नै यो राजमार्ग करिब ३० मिटर भाग पहिरो गएपछि सवारीका साधन पूर्ण बन्द थिए। मेचीको ‘लाइफ लाइन’ मानिने सडक अवरुद्ध हुँदा झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क टुटेको छ।

दसैंको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौं यात्रुले दुःख पाएका छन्। यी तीन जिल्लामा खाद्यान्न, पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ।

शुक्रबार र शनिबार दिनभर मर्मत गर्दा अझ माथिल्लो भाग जोखिमपूर्ण भएपछि काम रोकिएको सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिए। ‘यो खण्डको एक किलोमिटरभित्र दर्जनौं ठाउँमा पहिरोको जोखिम छ, गोलाई धेरै वटा भएकाले एक ठाउँ बनाउँदा अर्को ठाउँमा खतरा पुगिहाल्छ,’ उनले भने, ‘पानी आयो भने ठुलो पहिरोको खतरा छ।’

अब यो राजमार्ग मर्मतको काम के हुने भन्ने अन्योल छ। अहिले यात्रुहरू मेची राजमार्ग नै भएर माइखोला सम्म आउने, इलाम बजारबाट पनि गाडीमा पहिरो झरेको ठाउँसम्म जाने र करिब दुई सय मिटर पैदल हिँडेर यात्रा गरिरहेका छन्।

यसबाहेक वैकल्पिक सडकका रूपमा इलामबाट तिल्केनी–माइखोला–हात्तीसार–शुक्रबारे–गुप्ती–फिक्कल हुँदै यात्रुहरू यात्रा गर्दैछन्। तर, वैकल्पिक सडकमा साना सवारीका साधन चले पनि मालवाहक साधन चल्ने अवस्था छैन।

प्रकाशित: १९ आश्विन २०८१ १९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App