१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ भारतीय पक्राउ

हेटौंडाबाट करिब साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। मकवानपुर प्रहरीले ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित २ जनालाई पक्रेको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षका अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षका राहुल भिट्टिहाल बाड रहेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा चेकिङको क्रममा पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकिङ गर्ने क्रममा सुन फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काको नेतृत्वको प्रहरी टोलीले सुनसहित २ भारतीयलाई पक्रेको हो। ‘शरीरको विभिन्न भागमा ल्याएको बिल बिजक नभएको भन्सार छलीको अवैध सुनसहित २ जनालाई पक्राउ गरेका हौ,’मकवानपुर प्रहरी प्रमुख खड्काले भने, ‘बिस्कुटको आकारको ८ थान सुन फेला पारेका हौं। जसको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।’

उक्त सुनको शनिबारको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुनसहित पक्राउ परेका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई थप अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको बताइएको छ।

मकवानपुरमा नयाँ प्रहरी प्रमुख आएसँगै सुन र लागूऔषध कारोबारी धमाधम पक्राउ परिरहेका छन्। केही दिनअघि पनि हेटौंडाको रातोमाटेबाट अवैध सुनसहित एकजना पक्राउ परेका थिए।

प्रकाशित: १९ आश्विन २०८१ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App