१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

देवघाट गौशालाका संरक्षित गौहरूको स्वास्थ्य परीक्षण, अधिकांशमा जुका र नाम्ले

चितवनको देवघाटमा रहेको देवघाट गौशालाका संरक्षित गौहरूको स्वास्थ्य परीक्षण तथा खाद्यान्न औषधी वितरण गरिएको छ। 

एनिमल नेपालले विश्व पशु दिवसको अवसर पारेर बुधवार त्यहाँ रहेका २५ गाई गोरुको स्वास्थ्य परीक्षण तथा खाद्यान्न औषधी वितरण गरेको हो। परीक्षणका क्रममा अधिकांश गाईहरूमा जुका, नाम्ले र माटे देखिएको एनिमल नेपालले जानकारी दिएको छ। उनीहरुलाई रोग अनुसारको औषधी समेत दिइएको बताइएको छ।

मसानघाटमा छाडा गाइगोरुहरुले दुःख दिन थालेपछि देवघाटमा दुई वर्षअघि गौ संरक्षण केन्द्र स्थापना गरिएको थियो। तर, सञ्चालन गर्न निकै कठिन भएको गौशाला संरक्षण समितिका अध्यक्ष बाबुराम तिवारीले जानकारी दिए।

उनका अनुसार दान पेटिकाबाट संकलित रकमबाट जेनतेन दाना परालको गुजरा चले पनि कर्मचारीलाई तलब खुवाउन सकिएको छैन। यहाँ दुई जना कर्मचारी छन्। एनिमल नेपालले दातृ निकायबाट सहयोग मागेर १५ बोरा दाना र ५० केजी नुन समेत प्रदान गरेको छ। बुधवार नै देवघाटका कुकुरलाई रेबिजको भ्याक्सिन लगाइएको एनिमल नेपालकी दिपा केसीले जानकारी दिइन्।

यस्तै एनिमल नेपालले विश्व पशु दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ। प्रतियोगितामा शरदपुरकी बिनिता बास्तोला प्रथम भएकी छिन्। ११ जनालाई पछाडि पार्दै उनी प्रथम भएकी हुन्। यस्तै गणेश पौडेल द्धितिय र शुक्र नगरका विवेक सुनुवार तृतीय भएका छन्। 

प्रकाशित: १७ आश्विन २०८१ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App