१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर – हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो।

असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, बन्दाकोपी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायत नगदेबाली क्षति पु-याएको किसानले बताएका छन्।

ताथलीका कृषक सुभद्रा बस्नेतले यहाँ लगाएको आलु र गहुँ कामै नलाग्ने गरी असिना पानीले नष्ट गरेको गुनासो गरिन्। झौखेलका रामसुन्दर श्रेष्ठले यहाँका किसानले वर्षौंदेखि खेती गर्दै आएको नगदेबालीका रुपमा लगाइएको सिमी, बोडी, फर्सी, काक्रो, घिरौँला, काउली कामै नलाग्ने असिनाले नष्ट गरेको छ भने। छालिङका सुमन दथेपुथेले एक फिट जम्ने गरी परेको असिनाले तरकारी र भित्र्याउन ठिक्क परेको गहुँ बाली पूर्णरुपमा नष्ट बनाएको बताए।

असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन्। अधिकांश किसानले असिनाले लाखौँको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।

जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्यायो भन्ने जानकारी आए पनि कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने बताइन्।

कृषि विकास कार्यालयको भन्दा पनि अब नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने र किसानलाई क्षतिपूर्ति दिने काम गर्नुपर्ने बताउँदै उनले नगरपालिकामा कृषि कार्यालयको जिम्मेवारी गइसकेको अवस्थामा नगरपालिकाले क्षतिको विवरण संकलन र व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ थियो । रासस

प्रकाशित: २२ चैत्र २०७४ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App