१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोरङमा ९४ परिवार विस्थापित

बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आएका कारण विराटनगरलगायत मोरङका विभिन्न भाग डुबानमा परेका छन्।

वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन्। विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ।

रंगेली नगरपालिका– २ लक्ष्मीपुरका १६ परिवार विस्थापित भए। उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ। रंगेली नगरपालिका– ९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएपछि दोहमना बजारमा राखिएको छ।

विराटनगर महानगरपालिका– २ र कटहरी गाउँपालिका– १ का स्थानीय पनि विस्थापित भएका छन्। सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर– २ का ३ परिवार आफन्तको घरमा सरेका छन्। कटहरी– १ बख्खु टोलका ४ परिवार विस्थापित भएका छन्।

उनीहरूलाई नारी विकास संघको भवनमा राखिएको छ। सिंघियाकै बाढीका कारण जहदा गाउँपालिका– १ धुनी टोल सरबरिया बस्तीमा २५ घर डुबानमा परेका छन्। उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

त्यस्तै, धनपालथान गाउँपालिका– ३ बेतौना टोलका २४ परिवार विस्थापित भए। मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा पसेपछि उनीहरू विस्थापित भएका हुन्।

विराटनगरको दक्षिण–पश्चिम क्षेत्रका बस्ती डुबानमा परेका छन्। केशलिया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो।

मोरङ प्रहरीका अनुसार विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र जोखिमको पहिचान गरी उनीहरूलाई पनि सार्ने व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App