५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकीमा डेंगीः यो वर्ष ६ जनाको ज्यान गयो

डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन। मन्त्रालयका अनुसार कास्कीका ३ जना, तनहुँ, म्याग्दी र स्याङजाका १–१ गरि ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक असोज २ मा स्याङजाकी ७० वर्षिया महिलाको डेंगीबाट मृत्यु भएको थियो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

पछिल्लो समय कास्कीको पोखरामा डेंगी संक्रमण तिब्र भएको छ। मन्त्रालयका प्रवक्ता सुरज गुरौले अहिलेसम्म ६ जनाको ज्यान गएको र प्रदेशमा ८ हजार ६ सय २० जना संक्रमित बनेको बताए। ‘अहिलेसम्म ६ जनाको ज्यान गएको छ। संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ गुरौले भने, ‘अहिले पनि नियन्त्रणमा आइसकेको छैन । अहिले पनि संक्रमणको दर बढिरहेको छ।’  

गुरौका अनुसार साप्ताहिक रुपमा विश्लेषण गर्दा वृद्धिदर अझै तिब्र छ। ‘वृद्धिदर हेर्दा घटेको भन्न सकिन्न । किनकी हरेक दिन संक्रमित थपिएका छन। साप्ताहिक वृद्धिदरको अनुपातले पनि त्यही देखाउँछ,’ उनले भने, ‘तापक्रम उच्च रहेकोले अझै नै घटिसकेको भन्न मिल्दैन। चिसो नबढेसम्म संक्रमण कम हुँदैन।’ उनका अनुसार अगष्ट महिनामा प्रदेशमा ४ हजार ४२ जना संक्रमित बनेका थिए। सेप्टेम्बरमा अहिलेसम्म ३६ सय जना संक्रमित भईसकेका छन्।

पछिल्लो समय पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ। स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ। समुदाय सचेत नहुँदा संक्रमण कम हुन नसकेको स्वास्थ्य कार्यालय कास्कीको भनाई छ। गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन्।  

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ४२ सय ४५, तनहुँमा २३ सय २९, पर्वतमा ७ सय ८२ जना संक्रमित छन्। त्यस्तै गोरखामा ३ सय ९९, स्याङजामा ३ सय १०, बागलुङमा २ सय ४३, म्याग्दीमा १ सय ९, नवलपुरमा १ सय ४, लम्जुङमा ९४ र मुस्ताङमा ३ जना संक्रमित छन्। मनाङमा भने केही समय अघि देखिएका संक्रमित निको भईसकेका छन्।  

‘डेंगी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगी सार्ने लामखुट्टे सफा पानीमा मात्र फैलिन्छ। त्यसैले भाँडाकँुडामा जथाभावि पानी जम्मा नगरौ भन्दा पनि समुदायले अटेर गर्दा यो अवस्था आएको हो,’ उनले भने, ‘घरभित्र भन्दा बाहिरतिर भाडाँकुँडामा संकलन भएको सफा पानीमार्फत यो लामुख्टटे फैलिन्छ। त्यसैले जथाभावि पानी जम्मा नगरौ।’ समूदायमा सचेतनाका कार्यक्रम संचालन गरेको भएपनि नागरिक आफै सचेत नहुँदा हरेक वर्ष संक्रमण बढ्ने गरेको उनले बताए।  

तथ्यांकका अनुसार सबैभन्दा बढी संक्रमित कास्कीका मध्ये धेरै संक्रमित पोखरा महानगर भित्रका छन्। पोखरा महानगरमा मात्र ४१ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि तनहुँको आँबुखैरेनी गाउँपालिकामा १३ सय ८ जनामा संक्रमण पुष्टि भएको छ। ‘पछिल्लो समय पोखरामा संक्रमण तिब्र बनेको छ। पोखरा अहिले प्रदेशकै डेंगीको हटस्पट हो,’ उनले भने।  

उनका अनुसार खुलारुपमा यत्रतत्र फ्याकिएका भाँडाकुँडा, टायर, बोतल, बिर्काे, गमलामा पानी जम्मा हुने र त्यसैमा डेंगी फैलाउने लामखुट्टेले फुल पार्ने भएकोले त्यो हुन नदिन पानी संकलन रोक्नुपर्ने भएपनि त्यसबारे समुदाय सचेत नबनेको उनले बताए।  

‘सफा पानीमार्फत डेंगी फैलाउने लामखुट्टेको वृद्धि हुने हो। त्यसैले जथाभावि पानी संकलन गरेर खुलमखुला नछाड्न समुदायमा आग्रह पनि गरेका छौ। तर, आफैलाई नपरेसम्म यो बारेमा समुदाय सचेत नै भएन,’ उनले भने, ‘डेंगीबारे सबैलाई थाहा भएकै हो। तर, गम्भिर कोहि देखिएनन। पोखरामा अहिले बच्चामा डेंगी संक्रमण बढ्दो छ।’  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ४ आश्विन २०८१ १८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App