३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण धमाधम

फाइल।

तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ। बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुङ्गिनेछ। यसको करिब दुई किमि दूरीको छ।

यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। “आउँदो पुस महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण कम्पनीले तीव्रता दिएको छ, अहिले दैनिक २० देखि २५ जना जनशक्ति परिचालन गरिएको छ।” उनले भने।

मिनि ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने छ। ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्षदेखि सुरु गरिएको हो।

उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। मिनी ग्रेटवाल निर्माण नौलो काम भएकोले काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ।

अध्यक्ष थापाका अनुसार मिनिग्रेटवालको बाँकी दूरीमा दुवैतर्फ पर्खाल लगाउने, पर्खालको दायाँबायाँ भित्तामा ढुङ्गा छाप्ने, दायाँबायाँ भित्तामा बत्ती जडान गर्ने लगायतका कार्य भइरहेको छ।

मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आकर्षण हुने भएकाले पर्यटकका लागि नौलोपन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए।

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ।

पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम शृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ।

प्रमुख आकर्षण दोहोरो लाइन्नमा मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, विन्ध्यवासिनी मन्दिर, तीन धारा, रानीवन, फराकिलो टुँडिखेल, सहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन्।

बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ। बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, लाखेनाचका लागि जिल्लामै अग्रस्थानमा छ।

बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो।

प्रकाशित: २ आश्विन २०८१ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App