१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्षको खोजीका लागि स्थानीयले गुहारे पालिका सरकार, जनता माझ उपस्थित हुन आग्रह

दश महिनादेखि कार्यकक्षमा अनुपस्थित वडाध्यक्षको खोजीका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचावासीले पालिका सरकार गुहारेका छन् । स्थानीय ७ जनाले सिरिजङ्गा गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै १० महिनादेखि कार्यवाहकको भरमा चलिरहेको वडापालिकाको समस्यालाई निकास दिन वडाध्यक्षको खोजी गरेका हुन् ।  

स्थानीय छत्र काङ्भा लिम्बूका अनुसार सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिम लिम्बू गत वर्षको कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् । वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । लामो समयदेखि कार्यवाहकको भरमा चलेको वडामा रहेका स्वास्थ्यचौकी, विद्यालय र स्वयं वडाको कामकारवाही वडाध्यक्षको अनुपस्थितिमा प्रभावित भएको स्थानीय शक्तिलाल पौडल बताउँछन् ।  

सोही वडाका पूर्ववडाध्यक्ष सन्तोष चाम्लिङ वडा र पालिकाको काममा वडापालिकाभन्दा बाहिर जाँदा बाहेक लामो अवधिसम्म वडा नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण भएको बताउँछन् । ‘झण्डै वर्षदिनसम्म वडाध्यक्ष कार्यालयमा अनुपस्थित हुनु राम्रो पक्ष होईन,’ उनले भने ।  

वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएको स्थानीयको अनुमान छ । उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी साउदेनलाई दिने वाहेक कार्यवाहक छाडिएको पत्रमा अरु केही कुरा उल्लेख गरेका छैनन् ।  

स्थानीयले पालिकामा बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई जनताका माझ उपस्थित हुन आग्रह गरिएको छ । उपस्थित हुन नसक्ने अवस्थामा राजीनामा दिएर मार्गप्रसस्त गर्न स्थानीयले वडाध्यक्ष बोखिमलाई सुझाएका छन् । समस्या समाधानका लागि सम्वन्धित स्थानीय सरकारकोतर्फबाट उचित पहलकदमी लिन समेत स्थानीयले ज्ञापनपत्रमार्फत सिरिजङ्गा गाउँपालिकाको पनि ध्यानाकर्षण गरेका छन् ।  

‘दुई–चार साता काम बिशेष कार्यालयमा अनुपस्थित हुनु स्वभाविक हो, तर १०औं महिनासम्म कार्यालयमा नआएर जनताले दिएको अभिमतको अवमूल्यन गर्न उचित हुुँदैन’ स्थानीय निर्मलकुमार यवागुले भने ।  

वैदेशिक रोजगारीमा गएकै होला भने त्यताको समस्यालाई मार्ग प्रसस्त गर्नुपर्ने स्थानीयको भनाइ छ । स्थानीयले आफुहरुको मागको उचित निकास नभए वडाध्यक्षको खोजीका लागि आन्दोलन सम्मको चेतावनी सहित पालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।  

प्रकाशित: २५ भाद्र २०८१ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App