१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विश्व आत्महत्या रोकथाम दिवस: नेपालमा दैनिक सरदर २० जनाले गर्छन् आत्महत्या

आज विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ।

‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ।

सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ। सन् १६४२ मा सर थोमस ब्राउनीले आफ्नो ‘द रिलिजन अफ डाक्टर (रिलिजियो मेडीसी)’ नामक कृतिमा प्रथम पटक सुसाइड भन्ने शब्दको प्रयोग गरेको देखिन्छ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन्। १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो। विश्व स्वास्थ्य ङस्गठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन्। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।

विगत एक दशकको तथ्याङ्क हेर्दा आ.व. २०७१/७२ मा वार्षिक ४३३२ जनाबाट आ.व. २०८०/८१ सम्म आइपुग्दा वार्षिक ७२२३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। यो ग्राफ क्रमिक रुपमा उकालो चढिरहेको छ। नेपाल प्रहरीका अनुसार आ.व. २०८०/८१ को तथ्याङ्क अनुसार पुरुष, महिला, बालक र बालिकाले गर्ने आत्महत्याको सङ्ख्या क्रमशः ३७२७, २५७३, ३३१ र ५९२ रहेको देखिन्छ।

नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले प्रकाशन गरेको तथ्याङ्क हेर्ने हो भने विगत दश वर्षमा वार्षिक रुपमा औसतमा ५७५२ जनाले आत्महत्या गर्नेगरेको देखिन्छ।

विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ। कुल ३२८७८ जनामा २६६५० जनाले झुण्डिएर, ५६८७ ले विष खाएर र बाँकी अन्य छ। आ.व. २०७५/०७६ देखि आ.व. २०७९/८० सम्मको आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ।  

आत्महत्या सम्बन्धी १० तथ्यबारे जानौँः

१) विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि करिब आठ लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्।

२) विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन्।  

३) विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गरेको छ।

४) विश्वभर मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौ प्रमुख कारणको रुपमा रहेको छ।

५) विश्वभर ७० वर्षभन्दा बढी उमेरका मानिसहरूमा आत्महत्याको दर उच्च रहेको छ ।

६) १५ देखि २५ वर्ष उमेर समुहमा विश्वभर आत्महत्या दोश्रो सबैभन्दा प्रमुख मृत्युको कारण हो।

७) जीवन गुमाउनेको संख्या ७० प्रतिशत भन्दा बढि आत्महत्या गरिव देशहरूमा हुने गरेको छ।

८) आत्महत्याको प्रयास पुरुषहरुको तुलनामा महिलाहरुमा २/३ गुणा बढी देखिन्छ। तर आत्महत्याको कारण ज्यान गुमाउनेको सङ्ख्या भने महिलाको तुलनामा पुरुषको तिन गुणाले बढि छ।

९) नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्दछ।

१०) नेपालमा प्रत्येक महिना करिब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन जुन विश्व मै सातांै उच्च आत्महत्याको दर हो। यो दर दक्षिण एसियाली देशहरूमा श्रीलङ्का पछिको सर्वाधिक हो।

प्रकाशित: २५ भाद्र २०८१ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App