१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्ज महानगरपालिकाले थाल्यो जथाभाबी पम्प्लेट टास्नेलाई कारबाही गर्न

वीरगन्ज महानगरपालिकाले विद्युतको पोल तथा खाली भित्ताहरूमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ।

केही समयदेखि नै महानगरपालिकाले जथाभाबी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई समातेर कारबाही गर्न सुरु गरेको हो।

आइतबार राति जथाभाबी पर्चा, पम्प्लेट टाँस्दै गरेको अवस्थामा महानगरको सरसफाइ टोलीले एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको छ।

छिमेकी देश भारत रक्सौलका चिकित्सकको नाममा हाइड्रोसिल, बबासिर, भकन्दर, गुप्त रोग, चर्म रोग लगायतको रोगको उपचार हुने भन्दै वीरगंजका विभिन्न स्थानमा जथाभाबी पम्प्लेट टाँस्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको महानगरको सरसफाइ शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको जिल्ला लुधियाना ग्राम सिक्रीका संजय मलिक रहेका छन्। उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको मियाँले जानकारी दिए।

विभिन्न शिक्षण संस्था, इन्स्टिच्युट, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाका साथै भारतीय झोले छाप डाक्टरहरूले यस प्रकारको प्रचार सामग्री सहरका पोल र भित्ताहरूमा टाँस्नुका साथै वितरण गर्ने गरेको पाइएको छ।

महानगरको सरसफाइ शाखा र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको सरसफाइ शाखा प्रमुख मियाँले जानकारी दिए।

घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरी सडकलाई सफा बनाउने अभियानलाई महानगरले तीव्रता दिएको हो। शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्ते लेखन गर्न महानगरले रोक लगाएको मियाँले बताए।

मियाँका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारबाही अघि बढाउने महानगरको तयारी छ।

‘पोस्टरमा टाँस्ने र टाँस्न लगाउनेहरूलाई नगरको नियम अनुसार कारबाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन विशेष योजनाका साथमा हामी लागेका छौँ।’

सहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्प्लेटको बिगबिगी हटाउन लागिएको बताउँदै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा नियन्त्रणमा नै लिएर कडा कारबाही गर्ने चेतावनी दिए।

प्रकाशित: २४ भाद्र २०८१ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App