कर्णाली राजमार्गमा पछिल्ला नौ आर्थिक वर्षमा भएका सडक दुर्घटनामा नौ सय ९१ जनाको ज्यान गएको छ। यस अवधिमा एक हजार आठ सय १२ वटा सडक दुर्घटनामा परी नौ सय ९१ जनाको ज्यान गएको हो। यो तथ्यांक आर्थिक वर्ष २०७१/७२ देखि २०७९/८० सम्मको मात्र हो। कर्णाली राजमार्गले ‘मृत्यु मार्ग’को उपमा पाएको छ। यो राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुगेको छ।
वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो राजमार्गको यात्रा सधैं जोखिमपूर्ण हुन्छ। यो राजमार्ग भएर जुम्ला, डोल्पा, मुगु, कालिकोट, अछाम र दैलेख पुग्न सकिन्छ। राजमार्गको स्तरोन्नतिमा सरकारले चासो नदिँदा सर्वसाधारण आक्रोशित छन्।
सरकारले कर्णाली राजमार्गको अवस्था सुधार्न र नागरिकको पीडा सम्बोधन गर्न मौनता साँधेको भन्दै संघीय सांसद विनिता कठायतले गत बुधबार सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराकी छन्। सांसद कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ सांसदको समर्थनमा उक्त प्रस्ताव दर्ता गरिएको हो।
सांसद कठायतले भनिन्, ‘कर्णाली राजमार्ग कर्णाली क्षेत्रलाई मध्यपश्चिम र नेपालका अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो। तर हाल यसको अवस्था नाजुक भएका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। यो अवस्थामा सुधार ल्याउन सदनमा बृहत् छलफलका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराइएको हो।’
२०६४ चैत ३० गते कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। पश्चिम सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्न दुई सय ३२ किलोमिटर दुरी पार गर्नुपर्छ।
राजमार्ग साँघुरो र खाल्डाखुल्डी भएका कारण यात्रुले सास्ती खेप्दै आएका छन्। चट्टानी भाग छिचोलेर राजमार्गलाई दुई लेनको बनाउन सके जोखिम र दुर्घटना कम हुने देखिन्छ। त्यस्तै पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरी व्यवस्थित गर्न सके यातायत सेवा सुरक्षित बनाउन सकिन्छ।
राजमार्ग स्तरोन्नति नहुँदा सवारी दुर्घटनाको जोखिम कायमै रहेको सांसद सेजुवालले बताइन्। ‘राजमार्ग पुननिर्माण र कालोपत्रेका लागि सरकारले बर्सेनि पर्याप्त बजेट छुट्याउनुपर्छ’, उनले भनिन्, ‘राजमार्गको अवस्था सुधार्न हामी पनि लागिपरेका छौं।’
अहिले पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको थप जोखिम बढाएका छन्। वर्षा याममा झर्ने पहिरो तत्काल पन्छाउन नसक्दा यात्रुले भनेको समयमा गन्तव्यमा पुग्न नसकेको तितो यथार्थ पनि लुकेको छैन।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गमा भएका सवारी दुर्घटनामा पछिल्लो दशकमा नौ सय ९१ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक हजार पाँच सय २७ जना गम्भीर घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा भएका एक सय ३० सवारी दुर्घटनामा एक सय ३९ जनाको मृत्यु भएको थियो। त्यो वर्ष एक सय ७२ जना गम्भीर घाइते भएका थिए।
आव २०७२/७३ मा ७६ वटा सवारी दुघर्टना हुँदा ५६ जनाको ज्यान गयो भने ६५ जना गम्भीर घाइते भए। २०७३/७४ मा एक सय एकवटा सवारी दुर्घटना भए। ती दुर्घटनामा परी एक सय १७ जनाले ज्यान गुमाएको र एक सय ५३ जना गम्भीर घाइते भएको तथ्यांक ट्राफिक कार्यालयसँग छ।
आव २०७४/७५ मा भएका ८८ वटा सडक दुर्घटनामा ९१ जनाको मृत्यु भयो। ती दुर्घटनामा परी एक सय २० जना गम्भीर घाइते भए।
यसैगरी आव २०७५/७६ मा कर्णाली राजमार्गमा एक सय ४६ वटा सवारी दुर्घटना भए। दुर्घटनामा एक सय १९ जनाको ज्यान गयो भने एक सय ५० जना गम्भीर घाइते भए। २०७६/७७ मा यस राजमार्गमा दुई सय ३६ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भयो। उक्त वर्ष एक सय ३१ जना गम्भीर घाइते भएको तथ्यांक छ।
२०७७/७८ मा भएका दुई सय ९१ वटा सवारी दुर्घटनामा परी ९८ जनाको ज्यान गयो भने एक सय ६९ जना गम्भीर घाइते भए। यो राजमार्गमा आव २०७८/७९ मा सबैभन्दा धेरै चार सय तीनवटा सवारी दुघर्टना भए। ती दुर्घटनामा परी एक सय ८० जनाको मृत्यु भयो भने तीन सय ६२ जना गम्भीर घाइते भए।
त्यस्तै २०७९/८० मा तीन सय ४१ वटा सवारी दुर्घटना हुँदा ९४ जनाले ज्यान गुमाए भने दुई सय पाँच जना गम्भीर घाइते भएको तथ्यांक ट्राफिक प्रहरी कार्यालयसँग छ।
पछिल्ला नौ आर्थिक वर्षका सडक दुर्घटनामा भएको मानवीय क्षतिको तथ्यांक हेर्दा यो राजमार्ग सञ्चालनमा आएयताका १८ वर्षमा दुई हजार हाराहारी मानिसले यात्राका क्रममा ज्यान गुमाएको अनुमान गर्न सकिन्छ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतसँग आर्थिक वर्ष २०७१/७२ भन्दाअघि यो राजमार्गमा भएका दुर्घटना र मृत्युको सबै अभिलेख नभएका कारण यो अनुमान गरिएको हो।
प्रकाशित: २२ भाद्र २०८१ ०७:२९ शनिबार