रौतहटको गरुडा नगरपालिकामा रहेको एक बर्थिङ सेन्टरमा शुक्रबार तोडफोड गरिएको छ। सुत्केरी गराउन गएकी रमिता देवीको मृत्यु भएपछि स्थानीयले बर्थिङ सेन्टरमा हमला गरेका हुन्। आक्रोशित स्थानीयले सदरमुकामलाई जोड्ने राजमार्ग पनि जाम गरेका छन्।
गरुडा नगरपालिका-५ शिवनगरकी २५ वर्षीया रमिता देवी सुत्केरी गराउन बर्थिङ सेन्टरमा पुगेकी थिइन्। सुत्केरी गरिसकेपछि अत्यधिक रक्तस्राव भएको बताइएको छ। रक्तस्राव नियन्त्रणमा नआएपछि बर्थिङ सेन्टरले उनलाई वीरगन्ज रेफर गर्यो। तर, इन्डो-नेपाल अस्पतालमा पुग्दा अस्पतालले रमितालाई मृत घोषित गरिदियो।
स्थानीयले बर्थिङ सेन्टरका कर्मचारीहरूको लापरवाहीको आरोप लगाउँदै, सेन्टरमा तोडफोड गरेका छन्। घटनामा मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै शवलाई राजमार्गमा राखेर प्रदर्शन गरेका थिए।
करीब तीन घण्टा लामो चक्का जाम गरेका स्थानीयले नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घर अगाडि पनि शव राख्न खोजे तर प्रहरीले हस्तक्षेप गर्यो। घटनामा वडाध्यक्ष राम विनोद साहको निजी गाडीमाथि पनि तोडफोड भएको छ। यद्यपि सुत्केरीको मृत्यु भए पनि जन्मेको बच्ची सुरक्षित रहेको बताइएको छ।
गत भदौ ३ गते पनि सोही बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी रमेशकुमार सहनीकी २१ वर्षीया श्रीमती शर्मिला कुमारी सहनीको मृत्यु भएको थियो।
त्यस घटनापछि पनि स्थानीयले बर्थिङ सेन्टरमा तोडफोड गरेका थिए। त्यस बेला मृतकका परिवार र नगरपालिकाबीच पीडितलाई २ लाख क्षतिपूर्तिको सम्झौतासहित घटनाको छानबिन गर्ने सहमति भएको थियो।
प्रकाशित: २१ भाद्र २०८१ १७:२६ शुक्रबार