केही दिनअघि सहिद गेटबाट बागदरबारतर्फ जाँदै गरेका महेश न्यौपानेले काठमाडौं महानगरपालिकाको गेटअगाडिको जेब्राक्रसिङबाट सुन्धारातर्फ मोटरसाइकल मोडे। नजिकैको मिठाई पसलअगाडि उभिएका प्रहरीले उनलाई बीच सडकमै रोके र गलत मोडेको भन्दै चिट काटिहाले। ‘मलाई यताबाट मोड्नु हुँदैन भन्ने थाहा थिएन,’ उनले भने, ‘उभिएका ट्राफिकले चिट काट्नुभन्दा पहिल्यै मलाई नमोड भनिदिएको भए हुन्थ्यो नि !’
उनी मात्र होइनन्, त्यो दिन झन्डै एक दर्जन चालक त्यही मोडमा मोडिएबापत कारबाहीमा परे। सबैको एउटै गुनासो छ, ‘यो त नियम पालना गराउनेभन्दा पनि चिट काट्ने अभिप्राय देखियो।’ पंक्तिकारले यही प्रश्न खटिएका ट्राफिकलाई सोध्दा हामीलाई यसरी नै काम गर्ने भनेर खटाइएको भन्ने जबाफ फर्काइयो। उनीहरूको जबाफसँग सर्वसाधारण सन्तुष्ट छैनन्।
ट्राफिक प्रहरीको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने, नियमको कार्यान्वयन गराउने, अनुशासनको भावना जगाउने, सडक सुरक्षाबारे शिक्षित गर्ने र संवेदनशीलताको भावना विकास गराउने हुनुपर्नेमा चिटतर्फ केन्द्रित भएको उनीहरूको बुझाइ छ।
‘उनीहरू त चालकलाई कारबाही गर्ने र राजस्व संकलन गर्ने व्यवसाय गर्न थालेको भान भएको छ,’ ललितपुर च्यासलका विकेश अवाले भन्छन्, ‘चालकलाई जानकारी गराउनेभन्दा पनि चिट कटाउनेतर्फ बढी केन्द्रित देखिन्छन्।’
मंगलबजारबाट बागमती किनारको युएन पार्क आउँदै गर्दा ‘वान वे’ उल्लंघन गरेको भन्दै रसिद (चिट) काटिएको उनले सुनाए। ‘अघिल्लो दिनसम्म यस्तो भएको थाहा थिएन, ख्याल गरिएन, आइयो,’ उनले भने, ‘सरी भन्दाभन्दै चिट थमाए।’
हरेक गल्तीलाई एउटै टोकरीमा राखेर सजाय गर्ने नियम मन नपरेको उनले सुनाए। ‘गल्ती पनि फरकफरक हुन्छ, जानेर या झुक्किएर भन्ने पनि होला नि,’ उनले भने, ‘कोही झुक्किएका छन् भने सच्चिने मौका दिनुपर्छ।’
कमिसनको लोभमा ट्राफिक प्रहरीले त्यसो गरेको हुन सक्ने उनको बुझाइ छ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला ट्राफिक प्रहरीले जरिवाना रकमबाट १५ प्रतिशत प्रोत्साहन भत्ता पाउँदै आएका थिए। ऐनमा रहेको जरिवानासम्बन्धी दफा १६४ लाई संशोधन गरी २०७२ असोज १४ गते राजपत्रमा प्रकाशित गरेर करिब नौ महिनापछि जेठ १ देखि लागु गरिएको थियो।
त्यतिबेला जरिवाना रकमबाट सम्बन्धित ट्राफिक प्रहरीले १५ प्रतिशत कमिसन पाउने भएपछि बढीभन्दा बढी जरिवाना असुल्ने होड चलेको थियो। त्यतिबेला प्रत्येक महिना जरिवाना बापतको राजस्व पाँच करोडभन्दा माथि हुने गरेको र त्यसबाट आउने ७५ लाख कमिसन उपत्यकामा रहेका करिब १२ सय ट्राफिकलाई भागबन्डा गरिने गरेको समाचार प्रकाशित भएको थियो। तर अहिले त्यस्तो व्यवस्था नभएको नेपाल प्रहरीको भनाइ छ।
सडकमा खटिएका ट्राफिक प्रहरी भने जसरी हुन्छ ‘चिट’ काट्न लागिपरेको देखिन्छ। त्यसैले होला गत आर्थिक वर्ष मात्रै ट्राफिक प्रहरीले एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० रुपैयाँ राजस्व उठाएको नेपाल प्रहरीले जनाएको छ।
राजस्वमध्ये मापसे शीर्षकमा नौ करोड २६ लाख, सिट बेल्ट शीर्षकमा पाँच करोड ९७ लाख, मोबाइल फोन शीर्षकमा १० करोड, तीव्र गतिमा १० करोड, लेन मिचेकोमा चार करोड ८५ लाख जरिवाना गरिएको उल्लेख छ।
समग्रमा एक वर्षमा भएको झन्डै ३५ लाख ट्राफिक कारबाहीमा एक अर्ब ७५ करोडभन्दा बढी राजस्व उठेको हो। प्रहरीले चिट काट्न देखाएको चटारोका कारण ट्राफिक र सर्वसाधारणको सम्बन्धमा दरार देखिन्छ। त्यसैले होला प्रहरी मेरो साथी र मुस्कानसहितको सेवा अभियान ओझेलमा परेका छन्। ट्राफिकहरू चिट काट्न व्यस्त छन्। अनि चालकहरू ट्राफिकप्रति आक्रामक हुन थालेका भिडियोहरू सार्वजनिक हुन थालेका छन्। भक्तपुरको गठ्ठाघरको दुर्घटनापछि त सर्वसाधारण झनै आक्रामक देखिए।
चेकिङ गर्न बाटोमै बसेका कारण स्कुटी चालकको ज्यान गुमाएको सर्वसाधारणको आरोप थियो। ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारण दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि जाइलाग्दा सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीले भागाभाग गर्नुपर्ने स्थिति आएको थियो।
स्थिति यति तनावग्रस्त बन्यो कि प्रदर्शनकारीसमेत घाइते भए। प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र स्थिति नियन्त्रणमा गर्न अश्रुग्याँस नै हान्नुपरेको थियो। सर्वसाधारणको आरोप बढ्दै गएपछि ट्राफिक प्रहरीले चेकिङको समयमा नभएको भन्दै भिडियो सार्वजनिक गरेको थियो।
ट्राफिक विज्ञ आशिष गजुरेल ट्राफिकको काम चेकिङ गर्नु रहेको भन्दै प्रविधिको अभावमा समस्या आएको सुनाउँछन्। चोकचोकमा सिसिटिभी जडान गर्ने हो भने पनि समस्यामा केही कमी आउने उनको बुझाइ छ। ‘गल्ती गर्नेलाई बिच सडकमै नरोकौं। पछि उसलाई जरिवाना तिराऊ,’ गजुरेलले भने, ‘अनि सिसिटिभी क्यामराको राम्रो व्यवस्था गरौं। लुकेर बस्नुपर्दैन। गल्ती गर्नेलाई क्यामराले समाउँछ।’
ट्राफिक प्रहरीको मुख्य काम प्रचलित कानुनले दिएको अधिकारको अधीनमा रही सडकमा ट्राफिक नियमन र नियन्त्रण गर्नु रहेको भन्दै चालकले मापसे गरेर साधन चलाएको छ? कि उससँग लाइसेन्स÷बिलबुक छैन ? उसले ट्राफिक नियमविपरीत चलाएको छ? यसको नियमन गर्ने जिम्मा, कर्तव्य र अधिकार ट्राफिक प्रहरीको रहेको उनी बताउँछन्।
प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन्। दुर्घटनामा औसतमा सात जनाको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा देशभर भएका २२ हजार नौ सय २७ सवारी दुर्घटनामा दुई हजार तीन सय ६९ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। ट्राफिक कारबाहीको बढ्दै गए पनि दुर्घटनाको संख्या घटेको देखिँदैन। ‘कारबाहीले मात्र दुर्घटना घट्दैन,’ मीन कार्कीले भने, ‘राजस्व असुल्छन् तर सडकमा खाल्डा पुर्दैनन् अनि कसरी दुर्घटना घट्छ?’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका पूर्वडिआइजी केशव अधिकारी भने सरकारले बनाएको नियमअनुसार प्रहरीले कारबाही गर्ने गरेको बताउँदै यसको दोष ट्राफिक प्रहरीमा मात्र सीमित गर्न नहुने बताउँछन्। ‘सडकको क्षमताभन्दा बढी सवारी भित्र्याएर बरु सरकारचाहिँ राजस्व संकलनमा व्यस्त भएको देखिन्छ,’ उनले भने, ‘व्यवस्थापनको जिम्मा लिएर सडकमा खटिएका प्रहरी भने आक्रोशको सिकार हुन थालेको छ।’
दिनभर सवारी व्यवस्थापनमा खटिँदा प्रहरीमा तनाव उत्पन्न हुने भएकाले कहीँकतै समस्या आएको स्विकादै त्यसलाई सुधार्नुपर्ने उनको सुझाव छ।
‘हाम्रो सडकमा जहाजबाहेक सबै सवारी गुड्छन्,’ उनले भने, ‘यस्तो भद्रगोलमा व्यवस्थापन सहज छैन।’ उपत्यकाका सडकमा थेग्नै नसक्ने सवारीका कारण प्रहरी समस्यामा परेको बताउँछन्। त्यसैले व्यवस्थापनका लागि चिट काट्नुपरेको उनको तर्क छ।
यातायातमार्फत जरिवाना हुने कसुरहरू सार्वजनिकसमेत भएका छन्। जसमा निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारी चलाएमा, बाटो इजाजतपत्र नलिई चलाएमा वा सवारीको स्वरूप परिवर्तन तथा मोडिफाई गरी चलाएमा रहेको छ।
त्यस्तै सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएमा, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी माल–सामान वा सवारी राखेमा, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानिनोक्सानी पुर्याएको वा सम्पर्कमा नआएमा प्रहरीले कारबाही गर्न सक्नेछ।
यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएमा, सवारी चालक अनुमति पत्रप्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा तोकिएको भन्दा बढी मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा कारबाही गर्नेछ।
त्यस्तै हेलमेट नलगाएमा, सवारी आवागमनमा बाधा पुर्याएमा, अरू सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा वा छतमा यात्रु बोकेको वा राखेमा कारबाहीमा दायरामा आउनेछ।
यसै गरी ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएको सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याए जरिवाना तिर्नुपर्ने नियम छ।
सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिए ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ। यस्तै सडकमा गलत साइडतर्फबाट सवारी चलाएमा, एकतर्फी सडकमा सोहीविपरीत सवारी चलाएमा, अवस्था ठिक नभएको सवारी चलाएमा, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, राति बत्ती नबाली सवारी चलाएमा, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएमा कारबाहीको दायरमा आउने ऐनमा उल्लेख छ।
ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम चालक वा व्यवस्थापकबाट सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारी इजाजतपत्र लिएर २४ घण्टे पुर्जी दिने गरेको छ। पुर्जी प्राप्त गरेको २४ घण्टामा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क राखी जरिवाना रकम बुझाउनुपर्नेछ।
प्रहरीले नियममा कडाइ गरे पनि ट्राफिक पूर्वाधार भने कमजोर रहेका छन्। कतिपय जेब्राक्रसहरू मेटिसकेका छन्। सडक बत्ती जलेका छन्, बिग्रेका छन्। आकाशे पुल सहज छैनन्। लेनरेखा, सडक पेटी, रेलिङ, ट्राफिक लाइट र ट्राफिक संकेतबोर्डहरू कतिपय ठाउँमा प्रस्ट नरहेको सडक प्रयोगकर्ता बताउँछन्। ‘चिट काटेर जरिवाना असुलेको पैसाले प्रयोगकर्ताको ज्ञान बाँडौं,’ विमलले कार्की भने, ‘रकम असुल्ने भन्दा पनि चेतना बढाउने काम गरौं।’
पर्याप्त सडक, पैदलयात्रीका लागि फुटपाथ, यात्रुहरूका लागि पिक एन्ड ड्रप (चढ्ने, ओर्लने ठाउँ) को सुविधा, पार्किङको व्यवस्था ट्राफिक संकेत चिह्नहरूको व्यवस्थाका साथै आवश्यकता र पर्याप्त सवारीसाधनहरू तथा ट्राफिक नियमबारे सचेत नागरिक नभई चिटले मात्र समस्याको समाधान नहुने उनको बुझाइ छ। ‘चिटको चटारोभन्दा पनि पूर्वाधारतर्फ ध्यान दिनु जरुरी छ,’ कार्की भन्छन्, ‘त्यसो भयो भने दुर्घटनामा कमी आउँथ्यो कि?’
अहिले यस्तो विचित्र छ कि सडक यातायात मजदुरका लागि यातनास्थलझैं भएको छ। पाँच सयदेखि एक हजार पाँच सयसम्मका जरिवानाको चिट काटेर दिनभरि कमाएको पैसा ट्राफिक प्रहरीलाई बुझाउँदै खाली हात घर फर्किनुपर्ने अवस्था छ।
‘हामीलाई लुट्न बसेको,’ केही समयअगाडि सार्वजनिक भएको एक भिडियोमा मोटरसाइकल चालकले भनेका छन्, ‘एकछिन रोक्दैमा मलाई किन चिट काटेको?’
प्रकाशित: २१ भाद्र २०८१ ०८:२४ शुक्रबार