७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक दुर्घटनामा रमिते राज्य

ल मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा आइतबार एउटा बस दुर्घटनामा पर्‍यो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु.प.०२–००१ ख १३३२ नम्बरको बस उक्त ठाउँमा दुर्घटनमा परेको थियो। दुर्घटनामा १५ यात्रु घाइते भए। ल सोही दिन मध्य पहाडी राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुलेबाट एउटा जिप सुनकोसी नदीमा खस्यो । जिपसहित नदीमा खसेका तीनजना सम्पर्कविहीन छन्। एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। खोटाङको हलेसी मन्दिर दर्शन गरेर फर्किने क्रममा उक्त दुर्घटना भएको हो।

पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति नै एउटा गाडी दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा भारत उत्तर प्रदेश निवासी विकास पाठकको मृत्यु भयो । ल त्यस्तै अघिल्लो साताको सोमबार (भदौ ३ गते) पोखराको बुलौंदीमा कार दुर्घटनामा पर्‍यो। बा.५च.४२२५ नम्बरको कार दुर्घटनामा दुईजना घाइते भए। ल अघिल्लो साताकै मंगलबार (भदौ ४ गते) सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको ०२००१ ख १०११ नम्बरको गाडी दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रसिंह कार्कीको मृत्यु भयो।

अघिल्लो साताकै शुक्रबार (भदौ ७ गते) पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस तनहुँको आँबुखैरेनि ऐनापहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्यो । उक्त दुर्घटनामा २७ जना भारतीय तीर्थालुको ज्यान गयो भने १६ जना घाइते भए। यी सडक दुर्घटनाका केही उदाहरण मात्र हुन्। भदौ १ गते यता मात्रै मुलुकका विभिन्न भागमा पाँच सय हाराहारीमा सवारीसाधन दुर्घटनामा परेका छन्। 

नेपाल प्रहरीको तथ्यांकअनुसार भदौ १ देखि १० गतेसम्म भएका सवारीसाधन दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ भने नौ सय ८३ जना घाइते भएका छन्। यसै अवधिमा देशभरि सानाठुला गरी पाँच सय २१ वटा सडक दुर्घटना भएका छन् । अघिल्लो वर्ष भदौ १ देखि १० गतेको बीचमा भएका सडक दुर्घटनामा ५८ जनाको ज्यान गएको थियो भने सात सय १२ जना घाइते भएका थिए।

दुवै तथ्यांक हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको संख्या बढेको देखिन्छ । किन यसरी सडक दुर्घटना बढिरहेको छ ? जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पोहोर सालको तुलनामा वर्षा धेरै भएको छ । के सडक दुर्घटनाको कारण यो मात्र हो त ? विज्ञहरू वर्षाभन्दा अरू कारण पनि सडक दुर्घटनाका लागि जिम्मेवार भएको बताउँछन्।

यो साता दैनिकजसो सडक दुर्घटनाका समाचार आइरहेका छन्। यसबाट खासगरी तल्लो वर्गका मानिस अप्ठेरोमा परेका छन्। यात्रा गर्नैपर्ने ठाउँमा जान पनि सर्वसाधारण डराउन थालेका छन्। सडक दुर्घटना बढ्दै जाँदा आर्थिक गतिविधिमा कमी आउने विज्ञहरू बताउँछन्। 

विज्ञहरूका अनुसार सवारीसाधन दुर्घटना बढ्नुमा सडक विभाग, ट्राफिक प्रहरी र चालक सबैभन्दा धेरै जिम्मेवार छन् । सडक विभागले सडक सुरक्षित बनाउन नसक्नु, ट्राफिक प्रहरीले सचेतना, अनुगमन, कारबाहीलाई प्रभावकारी बनाउन नसक्नु र चालकले सवारीसाधन चलाउँदा लापरबाही गर्नु सवारी दुर्घटनाका प्रमुख कारण हुन्।

सडक दुर्घटना ह्वात्तै बढेपछि गृहमन्त्री रमेश लेखकले बुधबार सरोकारवाला सबै निकायका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । आउँदै गरेको दसैंलाई दुर्घटनारहित बनाउन उनले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनले सवारीसाधन दुर्घटनामा एक दिनमा औसत सात जनाको मृत्यु हुनु गम्भीर चिन्ताको विषय भएकाले कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताएका थिए ।  

को–को जिम्मेवार छन् ?  

सवारीसाधन दुर्घटना न्यूनीकरण गर्ने विषयमा २०७७ सालमा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बनाएको समितिले एउटा प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा सडक दुर्घटना हुनुमा नौवटा कारण जिम्मेवार देखाइएको छ । प्रतिवेदनमा प्रत्येक कारणको व्याख्या पनि गरिएको छ। कुल दुर्घटनामा ४३.७ प्रतिशत सवारीचालकको लापरबाहीबाट हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ।

त्यसैगरी तीव्रगतिका कारण १८.७, जहाँ पायो त्यहीबाट गाडीलाई उछिन्दा ९.८, पैदल यात्रुको लापरबाहीका कारण ९.५, मादक पदार्थ सेवन गरी गाडी चलाउँदा ६.२, यान्त्रिक गडबडीका कारण ६.१, क्षमताभन्दा बढी भारका कारण ५.२, सडक चौपायाका कारण शून्य दशमलब ४ र अन्य कारणबाट शून्य दशमलब ४ प्रतिशत दुर्घटना हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ। गणेश पाहाडी, गौरी शंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनवार र रंगमती शाही सम्मिलित समितिले उक्त प्रतिवेदन तयार पारेको हो।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव भण्डारीका अनुसार सवारीसाधन दुर्घटना बढ्नुमा सडकको दुरवस्था, तीव्र गति र चालकको लापरबाही मुख्य कारण हुन्। यसैगरी सडकमा चौपाया छाड्ने, मानसिक सन्तुलन भएका मानिस सडकमा आउने, ट्राफिक नियम उल्लंघन, मापसे, लामो दुरीमा चल्ने बसमा बसमा दुईजना चालक नराख्दा पनि दुर्घटना हुने गरेको उनले बताए। चालीस वर्षदेखि चालकको पनि काम गर्दै आएका उनले अहिले रा१ख ३२४१ नम्बरको बस चलाउँछन्। उनी भन्छन्, ‘दुई सय ५० किमिभन्दा लामो रुटमा अनिवार्य दुईजना चालक राख्नैपर्छ।’

विश्व स्वास्थ्य संगठनले सन् २०१३ मा निकालेको प्रतिवेदनमा नेपालमा सडक सुरक्षाको अवस्था विश्वमै खराबमध्येमा पर्ने उल्लेख छ । उक्त प्रतिवेदनअनुसार नेपालमा वार्षिक एक हजार आठ सयभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। सडक दुर्घटनामा कमी ल्याउन संयुक्त राष्ट्रसंघले विश्व सडक सुरक्षा दशक कार्ययोजना बनाएको अवस्थामा नेपालले पनि सडक सुरक्षा कार्ययोजना (सन् २०१३–२०२०) लागु गरेको थियो । कार्ययोजना कार्यान्वयनपछि पनि सडक दुर्घटना घट्नुको साटो झन् बढ्दै गएका छन् ।  

कसरी रोक्ने दुर्घटना?

पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग थापाका अनुसार विभागले सुरक्षित सडक बनाउने, खाल्डाखुल्डी हटाउने, ट्राफिक प्रहरीले चालकमा सचेतना बढाउने, लापरबाही गर्नेमाथि कारबाही र अनुगमन प्रभावकारी बनाउने, ठाउँठाउँमा सडकसम्बन्धी जानकारीमूलक बोर्ड राख्ने तथा चालक आफैंले सुरक्षित रूपमा गाडी चलाउने हो भने धेरै हदसम्म दुर्घटनामा कमी ल्याउन सकिन्छ। सवारीसाधन परीक्षण गरेर मात्र चलाउने र तीव्र गतिमा नहाँक्ने हो भने पनि दुर्घटनामा कमी आउन सक्छ। ‘सडक दुर्घटना घटाउन सडक विभाग, ट्राफिक प्रहरी र चालकलाई थप जिम्मेवार बनाउनुपर्छ,’ उनले भने।

सडक विभाग मातहत सडक सुरक्षा शाखा छ । तर यो शाखा नाम मात्रको छ । यसले सवारी दुर्घटनाको अभिलेखसमेत राख्दैन । भौतिक, पूर्वाधार तथा यातायाता मन्त्रालयले ६ वर्षअघि नै ‘सडक सुरक्षा ऐन’ र ‘सडक ऐन’को मस्यौदा बनाए पनि अहिलेसम्म यी मस्यौदा मस्यौदा कानुनमा रूपान्तरण हुन नसकेको अवस्था छ। कानुन अभावमा यातायात व्यवस्था नियमावलीको भरमा सवारीसाधनको व्यवस्थापन गरिँदै आएको छ।

प्रकाशित: १४ भाद्र २०८१ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App