३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङबीच सहमति

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो प्रान्तमा रहेको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच सहमति भएको छ। सहमति अनुसार शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गरिने छ।

सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्र (लेटर अफ इन्टेड)मा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन उपस्थित थिए।

महानगर प्रमुख चिरीबाबु महर्जनले आशय पत्रमा हस्ताक्षरपछि शिक्षा, खेलकुद र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्न बाटो खुलेको बताए। उनले भने, ‘यस अन्तर्गत हामी अध्ययनका लागि विद्यार्थी आदानप्रदान लगायतका थुपै्र काम गर्न सक्छौं, त्यो हामी गर्छौ।’

शिक्षा र खेलकुदको क्षेत्रमा असल अभ्यास आदानप्रदान गर्न र नयाँ अभ्यासको थालनी गर्न समेत यो कार्यक्रमले मार्गप्रशस्त गरेको उनको भनाइ थियो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले यसबाट कोरिया र नेपाल दुबै देश लाभान्वित हुने बताए। उनले भने, ‘शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रको विकासका लागि भएको यो सहमतिले महानगरबासी विशेष रुपमा लाभान्वित हुनुहुनेछ।’ यो कार्यक्रमलाई अघि बढाउन पाउँदा धेरै खुशी लागेको उनले बताए।

चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले यो कार्यक्रमले कोरिया र नेपालको सम्बन्धलाई थप उचाई पुर्‍याएको बताए। दुई देशको शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा काम गर्न लिखित सहमति गरेर अघि बढ्न पाउँदा धेरै खुशी लागेको बताए।

उनले भने, ‘अब हामी विभिन्न कार्यक्रमहरु अघि बढाउँछौँ, सबैबाट सबैजना लाभान्वित हुनुहुनेछ।’

कोरियाको चेओरवन सहरको निमन्त्रणामा एक साता अघि महानगर प्रमुख चिरीबाबु महर्जन कोरिया जानु भएको हो। चेओरवन सहरले दुई सहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि महानगरका प्रमुखलाई निम्ता गरेको हो।

प्रकाशित: १३ भाद्र २०८१ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App