२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

अवैध रूपमा ब्राजिलको बाटो हुँदै अमेरिका जान कठिन, १७६ जना नेपाली विमानस्थलमै अड्किए !

ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपाली नागरिकसहित करिब सात सय जना विदेशी यात्रु अड्किएका छन् । ब्राजिलस्थित नेपाली राजदूतावासका अनुसार अड्किएका यात्रुमा १७६ जना नेपाली नागरिक छन् ।  

दुतावासले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै त्यहाँ अड्किएका सबै नेपाली यात्रुहरू सकुशल रहेको जनाएको छ । यस्ता आवश्यकताअनुसार उनीहरूलाई मानवीय सहायता पु¥याउन दूतावास तयारी अवस्थामा रहेको पनि उल्लेख छ ।

दूतावासको विज्ञप्तिमा दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले आउने प्रवृत्ति बढेको भन्दै विमानस्थलमा अड्किएका यात्रुको गन्तव्यबारे संकेत गरेको छ ।  

‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’  

विज्ञप्तिमा ब्राजिल सरकारले तत्काल लागु हुनेगरी नेपाललगायतका केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा९भिसा० लिएको भएमा मात्रै प्रवेश गर्ने नयाँ नियम ल्याएको पनि उल्लेख छ ।  

‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसको अर्थ ब्राजिलको भिसाबेगर विमानस्थल ट्रान्जिट बनाउने यात्रुको हकमा सोही विमानस्थलबाट सिधै गन्तव्य मुलुकतर्फ जहाजमा उड्न पाइने तर, विमानस्थलबाहिर निस्कन नपाइने व्यवस्था गरेको छ। जसले ब्राजिलको विमानस्थलमा ओर्लिएर भूमिगत बाटो प्रयोग गर्न बन्देज लागेको छ ।

यस्तै दूतावासले मानव तस्करको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको अवैध, जोखिमपूर्ण र अनिश्चित यात्रा नगर्न पनि आग्रह गरेको छ। यस्तै यात्रा गर्नुपर्ने जायज कारण भएमा यात्राको कारण पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल अथवा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि आग्रह गरेको छ ।

प्रकाशित: ११ भाद्र २०८१ १८:२४ मंगलबार