अहिले उपत्यकामा मात्र १३ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। यस्तो लाग्छ, सिंगो सहरलाई गाडीले बोकिरहेको छ।
आजभन्दा सात दशकअगाडि राजधानीका एकाधले मात्र गाडी चढ्थे। दूरदराजको सिंगो गाउँ गाडी बोक्न खटिन्थ्यो। देशको केन्द्रीय राजधानी काठमाडौंमा कुनै बेला शासकहरूले मात्रै सवारीसाधन चढ्थे।
उनीहरूका लागि आवश्यक सवारीसाधन मकवानपुरको भीमफेदीबाट बोकेर काठमाडौंको थानकोटसम्म ल्याइन्थ्यो। एक साताभन्दा बढीको कष्टकर गाडी बोकाइसँगै धेरै बिरामी पर्थे। कति त थला पर्थे। कति लामो समयसम्म काम गर्नै नसक्ने हुन्थे।
शासकहरूका लागि गाडी बोकेर ढाड सेकाउने अन्तिम भरिया हीराबहादुर घलानको पनि चार वर्षअगाडि मृत्यु भइसकेको छ। मत्युअगाडि उनले गाडी बोकेर ल्याउँदा भोगेका अनेकौं कष्ट सार्वजनिक गरेका छन्।
फास्ट ट्र्याकमार्फत एक घन्टामा राजधानी जोड्ने वर्तमान समयसँग घलानको इतिहास निकै कहालीलाग्दो छ। बाबुको बिडो थाम्दै २००६ सालबाट गाडी बोक्न थालेको उनको कुराबाट प्रस्ट हुन्छ कि गाडी त्योभन्दा अघिदेखि नै बोकेर ल्याइन्थ्यो। उनले आफू १८ वर्षको हुँदादेखि त्रिभुवन राजपथ नबनेसम्म साना–ठुला गरी २५ वटा गाडी बोकेको सुनाए। उनका अनुसार त्यतिबेला हलुका गाडी १२ दिनमा राजधानीमा पुर्याइन्थ्यो भने गह्रौं गाडी पुर्याउन २५ दिनसम्म लाग्ने गरेको सुनाए।
घलानले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्न पाए भने ६४ जनाले बोक्ने गाडी १० खेप जति बोक्न पाएको बताए। मकवानपुरको थाहा नगरपालिकास्थित उनको गाउँमा मात्रै ४८ जना गाडी बोक्ने भरिया रहेको घलानले बताएका थिए।
झन्डै पाँच वर्षअगाडि उनले टेलिभिजनमा दिएको अन्तर्वार्तामा एउटा सिंगो गाडीलाई कसरी बोक्ने भन्ने तरिका पनि सुनाएका थिए। उनका अनुसार सबैभन्दा पहिले गाडीका चक्का र बम्परहरू निकालिन्छन्। त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठुल्ठुला पोलजस्ता नोल राखिन्छन्। त्यसमा साना नोलहरू राखेर बाबियोको डोरीले कसिन्छ। नोल र गाडी एक ढिक्का हुने गरी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरियाहरू बस्छन्। अनि एकसाथ बल गरेर होस्टे हैंसे गर्दै बोकिन्छ।
नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनर्निर्माण र स्तरीकरण गरेको बताइन्छ। त्यतिबेला राजा महाराजा तथा राणाहरूले क्रमशः नेपालमा गाडीहरू भित्याएका थिए।
भारतको बन्दरगाहमा विदेशबाट आएका गाडी नेपालको वीरगन्ज, हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाटोबाटै गाडी लगिन्थ्यो भने भीमफेदीदेखि काठमाडौंसम्म सडक नबनेका कारण मान्छेहरूले नै बोकेर उपत्यका पुर्याउनुपथ्र्यो।
त्यस्ता गाडी बोक्न मकवानपुरका बलिया युवाहरूलाई प्रयोग गरिन्थ्यो। गाडी बोक्नेहरूमध्ये कतिले त दुई छाक भातको भरमा पसिना बगाएको र कतिले भने गाडी बोकेरै प्रशस्त जग्गाजमिनसमेत जोडेको उनीहरूको जीवनीबाट थाहा पाउन सकिन्छ।
तिनैमध्येका एक अन्तिम जीवित पात्र घलानको मृत्युसँगै गाडी बोक्नेको सजीव अनुहार अस्ताएको छ। उनीहरूले वर्णन गरेका कष्टकर यात्रा अनुभव ओझेलमा परेका छन् तर त्योभन्दा कम छैन अहिले राजधानीमा गाडी गुडाउनेको कथा।
घलानका सन्तान के गर्छन् थाहा छैन तर उनका छोराजस्तै उमेरका दोलखा दोरम्बाका ५१ वर्षीय दिनेश मोक्तान सात वर्षयता राजधानीमा ट्याक्सी कुदाउँदैछन्। साउदी अरबमा पाँच वर्ष काम गरेर आएका उनले उतैको कमाइमा ऋणधन गरेर परिवार चलाउन गाडी किनेको सुनाए।
‘यही गाडी भारतमा दुई लाखमा पाइन्थ्यो,’ सेकेन्ड ह्यान्ड गाडी नौ लाखमा किनेका उनले भने, ‘यहाँ आएपछि गाडी अचाक्ली महँगो हुने रहेछ।’ बिरामी बोकेर सरकारी अस्पताल जाँदै गरेका उनले गाडीको मूल्य धेरै हुँदा जमिनसमेत बन्धकी राख्नुपरेको बताए। विलासिताको सामग्री भएर यस्तो महँगो भएको भन्नेसम्म आफूले थाहा पाएको उनले सुनाए।
‘गाडी चढ्ने पनि गरिब, चलाउने पनि गरिब,’ आफ्नो प्यासेन्जरलाई देखाउँदै माक्तान भन्छन्, ‘विलासिता भनिएकाले गाडी महँगो हुँदा त्यसको मारमा अहिले हामी दुवै पिसिँदैछौं।’
उनको जस्तै भोगाइ छ, टोखाका नारायण अधिकारीको पनि। काँठ क्षेत्रका उनले हालसालै जमिन बेचेर गाडी किनेको सुनाए। घरमा रहेको बुढा बा आमाको रहर पूरा गर्न आफैंले गाडी किनेको उनी बताउँछन्। ‘सार्वजनिक सवारीसाधन चढ्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बुढाबुढीका लागि किनेको गाडी पनि निकै महँगो छ।’
आफूले २० लाखमा किनेको गाडी भारतमा पाँच लाखमा पाइने गरेको उनले बताए। उनले यस्तो महँगो किन भएको भन्ने जानकारी नभए पनि सरकारले गाडीको भन्सारमा कम गरिदिएर सामान्य मानिसले पनि गाडी किन्ने रहर पूरा गर्न सक्ने सुझाए।
नेपालमा निजी प्रयोजनमा प्रयोग हुने सवारीसाधनमा उच्च कर लाग्दै आएको छ। सरकारले मदिरा र चुरोटमा जस्तै कारमा पनि उच्च अन्तःशुल्क लगाउँदै आएको छ। यसले भारतमा पाँच लाख भारु पर्ने कार नेपालमा ३१ लाख रूपैयाँभन्दा बढी तिर्न बाध्य भएको जानकार बताउँछन्।
सरकारले अहिले ८० प्रतिशत भन्सार, सिसीको आधारमा ४० देखि १०० प्रतिशतसम्म अन्तः शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र आठदेखि १० प्रतिशत सडक निर्माण दस्तुरको रूपमा भन्सार बिन्दुमै राजस्व संकलन गर्दै आएको छ। यसले पाँच लाख भारुको कारबाट नेपाल सरकारले १० लाख भारुभन्दा बढी राजस्व संकलन गर्दै आएको देखिन्छ।
त्यही कारणले होला पैसा धेरै भएकासँग धेरै गाडी छन् तर सामान्य मानिससँग आवश्यकता धान्ने एउटा गाडी किन्ने हैसियत पनि भएन। ‘भारतमा रहेको मेरो साथीले मेरो भन्दा कम तलब खान्छ र गाडीमा हिँड्छ,’ आइटी सेक्टरमा काम गर्ने रवीन्द्र थापाले भने, ‘मेरा लागि गाडी किन्ने सपना विपना बन्न सकिरहेको छैन।’
उसले १० लाखमा किनेको गाडी मेरो देशमा ५० लाखभन्दा बढी पर्ने गरेको उनले सुनाए। उनी नेपालमा गाडीको मूल्य कसरी घट्ला भन्ने प्रतीक्षामा छन्।
यसलाई कम गर्न सकिने थुप्रै उपाय छन् तर सरकार ती कुनै पनि उपाय अवलम्बन गर्न तयार छैन। यसले घरमा एउटा सानो कार राख्ने नागरिक र घरमा दर्जनौं कार राख्नेलाई एउटै बास्केटमा राखेर कर लगाउँदै आएका कारण समस्यामा रहेको कतिपय व्यवसायी बताउँछन्।
‘वार्षिक रूपमा सरकारले सडक करको नाममा ठुलो रकम असुलउपर गर्दै आएको छ। बिमा, मर्मत र इन्धनमा पनि ठुलो रकम खर्च गर्नुपर्ने भएकाले नेपालमा औसत आय भएका मानिसले कारको सपना देख्नै सक्दैनन्,’ व्यवसायी विकेश मल्ल भन्छन्, ‘औसत आयस्रोत भएका मानिसलाई गाडी चढ्न सक्ने बनाउँदै उसको उत्पादकत्व वृद्धि र थप आयआर्जनमा लाग्न प्रेरित गर्न पनि कारको मूल्य कम गर्नुपर्ने देखिन्छ।’
उनले सवारीसाधन अर्थतन्त्रका पांग्रा भएको हुँदा यसले मानिसको उत्पादकत्व बढाउँछ भन्ने विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।
उनले १२०० सिसीसम्मको पहिलो कार किन्नेलाई अन्तःशुल्कमा छुट दिन सुझाए। सरकारले अहिले १२०० सिसीसम्मका कारमा ५० प्रतिशतसम्म अन्तःशुल्क लगाउँदै आएको छ।
त्यस्तै कुनै परिवार पहिलो कार किन्न आएको छ भने त्यसलाई १२०० सिसीसम्मका कारमा अन्तःशुल्क छुट दिने व्यवस्था लागु गर्न सक्ने हो भने यसले कारको बिक्री बढ्नुका साथै मध्यम आय भएका मानिसले कार किन्नुपर्छ भन्ने सोच राख्न सक्ने उनको बुझाइ छ।
पूर्वाधार विज्ञ आशिष गजुरेल पनि सार्वजनिक यातायातलाई व्यवस्थित गर्नतर्फ सरकारले ध्यान दिन नसक्दा समस्या आएको सुझाउँछन्। ‘एकातिर सार्वजनिक यातायात व्यवस्थापनमा सकार चुकेको छ,’ उनले भने, ‘यसैबाट आजित भएर सानो सवारी किन्नेहरू बढ्दो करको मारमा परेका छन्।’
दुई सय ५० देखि तीन सय प्रतिशतसम्म भन्सार कर लिएका कारण भारतमा भन्दा नेपालमा सवारी महँगो हुन पुगेको उनको बुझाइ छ।
उनको कुरासँग जोरपाटीका मदन घिमिरे पनि सहमत छन्। उनी गाडी किन्ने सोखभन्दा पनि बाध्यता रहेको सुझाउँछन्। ‘सार्वजनिक सवारी अव्यवस्थित छन्, त्यसैले सानो भए पनि निजी राख्न बाध्य भएका हौं,’ उनले भने, ‘यसरी बाध्य हुने नागरिकको हकमा पनि सरकारले सोचिदिए राम्रो हुने थियो।’
प्रकाशित: ११ भाद्र २०८१ ०६:४५ मंगलबार