२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एक परिवारको भरमा टिकेको छ भक्तपुरको सूर्यविनाक गणेश जात्रा

जात्रैजात्राको सहर भनेर परिचित भक्तपुरको धेरै जात्राहरुमध्येको एक हो सूर्यविनायक गणेश जात्रा। तर हाल यो जात्रा गम्भीर संकटमा परेको छ। आर्थिक अभावका कारण समुदायले साथ छोडेपछि यो परम्परागत जात्रा अहिले एउटा परिवारले जेनतेन चलाइरहेका छन्।

जात्रा मनाउन आर्थिक अभाव भएपछि सबै जना जात्रा मनाउनबाट पन्छिएका हुन्। भक्तपुर नगरपालिका वडा नं-४ पोटरी स्क्वायरका कृष्ण सुवालका अनुसार यस जात्रालाई पहिले १६ वटा गुठीहरूले संयुक्त रूपमा सञ्चालन गर्थे। तर, आर्थिक अभावका कारण ती सबै गुठीहरूले जात्रा सञ्चालनको जिम्मेवारीबाट हात झिकेका छन्। अब, यो जात्रा औपचारिकतामा मात्र सीमित भएको उनी सुनाउँछन्।

"पहिले जात्राको खट १६ जनाले बोकेर भक्तपुर नगर परिक्रमा गराउँथ्यौं," सुवाल भन्छन्, "तर अहिले खटलाई सानो बनाएका छौं, र चार जनाले बोक्ने गरी मात्र सञ्चालन गरेका छौं।"

हाल जात्रा सुवालले नै सञ्चालन गरिरहेका छन्। यो जात्रा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं-८ मा रहेको सूर्यविनायक गणेश मन्दिरबाट सुरु हुन्छ।

सुरुमा मन्दिरमा पूजा-आजा र भजन कीर्तन गरिन्थ्यो, तर अहिले भजन पनि बन्द भएको छ। सहभागीहरूको संख्या हजारौंबाट घटेर अहिले परिवारको मात्र एक दुई दर्जन मानिसमा सीमित छ।

सुवालका अनुसार, सुरुमा खटलाई पोटरी स्क्वायरबाट सूर्यविनायकमा ल्याइन्छ, र त्यहाँबाट जात्रा सुरु हुन्छ। सूर्यविनायक गणेश मन्दिरबाट खटलाई भक्तपुरको पोटरी स्क्वायरसम्म पुर्‍याइन्छ, जहाँ एउटा बोकाको बली दिइन्छ। त्यसपछि खटलाई भक्तपुर नगर परिक्रमा गराउँदै तलेजु मन्दिरसम्म पुर्‍याइन्छ, जहाँ अन्तिम पूजाआजा र बली दिएर जात्राको समापन गरिन्छ।

जात्रालाई सञ्चालन गर्न अहिले चार जना मानिस आवश्यक पर्छन्, जसलाई प्रति व्यक्ति एक हजार रुपैयाँ दिएर खर्च टार्नुपर्ने हुन्छ। अन्य विविध खर्चहरूका लागि पनि पैसा आवश्यक छ। यद्यपि, जात्रा हेर्न भक्तपुरभरि हजारौं मानिसहरू आउने गर्छन्। उपत्यकाको चार गणेशस्थानमध्ये जेठो गणेश भक्तपुरको सूर्यविनायक गणेश हो। जुन एक प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ।

"पहिले सात-आठ ठाउँमा बोकाहरू बली चढाइन्थ्यो," ७५ वर्षीय कृष्णप्रसाद सुवालले भने, "तर अहिले जात्रा चलाउनका लागि परिवारकै खर्चमा जेनतेन सञ्चालन गरिरहेका छौं। बुबाले चलाइराख्नू जात्रा, नरोक्नु भनेकाले हामीले यो परम्परा निरन्तरता दिइरहेका छौं।"

प्रकाशित: ५ भाद्र २०८१ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App