नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो । भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो । सोही अनुसार महानगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणमा समेत ठुलो रकम खर्च गरिरहेको छ । तर, पछिल्लो समय नारायणी किनारको सौन्दर्य भने गुम्दै गएको छ । नारायणी किनारमा आएको बाढीले त्यहाँ निर्माण गरिएका संरचना बगाएर ठुलठुला खाडल बनाउँदै लगेपछि यहाँको सौन्दर्य बिग्रँदै गएको हो ।
यस नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने उद्देश्यले नारायणी नदीको पुलबाट उत्तर तर्फ ६ सय ४० मिटर लामो समुन्द्री तट प्रकारको तटवन्धन निर्माण कार्य गरिएको थियो । साथै ठाउँ ठाउँमा चाइनिज दुवो, बिरुवा तथा विभिन्न मृत्र्तिहरु निर्माण गरिएको थियो । त्यसै गरी नारायणी किनारको माथिल्लो भागमा मोज्याक टाइलसमेत लगाइएको छ । तर, यसपटक आएको बाढीले नारायणी नदी किनारको दुवो सहित त्यहाँको माटो र बिरुवाहरू बगाएर लगेको छ । अधिकांश ठाउँमा बाढीले ठुलठुला खाडल समेत बनाएको छ ।
नदीले ‘सीबीच मोडल’को तटबन्धमा भने क्षति पु¥याएको छैन । तर, त्यसका कारण मेला महोत्सव तथा मनिङवाक गर्ने स्थानमा क्षति पुग्न गएको पोखरा बसपार्कका बाइबा गुरुङ बताउँछन् । ‘नारायणी नदी किनारमा विकास रामै भएको थियो । सी बिच मोडलले गर्दा बिचको भाग खाल्टो पारेर लग्यो,’ उनले भने ‘यहाँको सौन्दर्य हराइरहेको छ ।’ गुरुङ नारायणी किनारमै खेलेर हुर्किएका व्यक्ति हुन् । पछिल्लो समय पर्यटकीय गतिविधिमा लगानी बढ्दै गए पनि सही रुपमा प्रयोग हुन नसकेको उनले बताए । ‘नदी किनारलाई व्यवस्थित राख्नुपर्दछ । तर, विकासको नाममा दिर्घकालिन असर पर्ने खालका काम गर्नुहुँदैन’– उनले भने ।
१६ करोड रुपियाँको लागतमा नारायणी किनारको चौरलाई कायम राखी नदी कटान रोक्न समुन्द्री किनारको आकारमा तटबन्धन निर्माण गरिएको थियो । अझै यहाँ आरती स्थल निर्माणको तयारी थालिएको छ । साथै ठाउँ ठाउँमा दुवो, बगैँचा निर्माण, खेलमैदान निर्माण गर्ने योजना बनाइएको छ । तर, नदी बग्ने स्थानमा धेरै लगानी गर्न नहुने गैँडाकोटकी पदम कुमारी कुँवर बताउँछिन् । ‘महानगरपालिकाले बनाउन त खोज्छ । तर, त्यति नै बगाइदिन्छ’, नारायणी किनार घुम्न आएकी कुँवरले भनिन् ‘बाढी आउनु अगाडि यहाँ विभिन्न मूर्ति थिए । बिरुवा र दुवोले सुन्दर देखिएको थियो । नारायणीले बगाएर लगिदिइयो ।’
नदी किनारमा शितल हावा लिनका लागि टहलिनेहरूको साँझपख निकै भिड लाग्छ । मकै पोल्ने, चटपट, पानी पुरी र म।म। चाउमिन जस्ता फाष्टफुड बेच्नेहरूका ठेलाहरू लहरै हुन्छन् । नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ । लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान गरिएको छ । हिँड्नका लागि मोजाइक टायल बिछ्याएको छ । तर, यो भने बाढीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । खाल्डा बनेको ठाउँमा फोहोर फाल्न थालिएको छ । तर, महानगरले बाढीपछि यहाँ व्यवस्थित नगर्दा मानिसहरूको चहलपहल बढेको ठेला व्यवसायी बबिता श्रेष्ठ बताउँछिन् । ‘अहिले नारायणी किनारको सो नै हराएको छ । हाँका बिरुवा र दुवो बाढीले बगायो । फोहोर जथाभाबी फालिएको छ । महानगरपालिकाले ध्यान दिँदैन’, उनले भनिन्, ‘महानगर पैसा उठाउन मात्र आउँछ ।’ अहिले नारायणी नदी किनारमा शौचालय नहुँदा घुम्न आउने पर्यटकलाई धेरै समस्या भएको उनले बताइन् ।
नदी किनारलाई हरियाली तथा धुलोरहित बनाउन पन्ध्र सय स्क्वायर फिटमा दुवो लगाइएको थियो । सो दुबो नारायणी नदी किनारमा देख्न पाइदैन । तर, अहिलेको बाढीले ‘सीबीच मोडल’लाई केही असार नगरको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामा बताउँछन् । ‘नारायणी नदीमा बाढीले त्यस्तो क्षति पुराएको छैन’, उनले भने ’नारायणी नदीमा रोपिएको दुवो आदिवासी जनजाति महासघले रोपेको थियो । महानगरले रोपेको होइन ।’
प्रकाशित: ३२ श्रावण २०८१ १६:०३ शुक्रबार