प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो। बडिमालिका क्षेत्र सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कालीकोटको संगमस्थलमा हो भने मुख्य पूजास्थान भने बाजुरा जिल्लामा पर्छ।
प्राकृतिक सुन्दरता र धार्मिक महत्वका दृष्टिकोणले सुदूरपश्चिमका खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साइपाललगायतका क्षेत्र महत्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ धार्मिक र पर्यटकीय दुवै हिसाबले।
हिन्दुहरूको आस्थाको धरोहर यति महत्वपूर्ण भगवती पीठ ओझेलमा परेको छ। बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ। शान्त डाँडाकाँडा, फराकिला घाँसे मैदान अनि सिमसिम पानी। वर्षातमा रमाउँदै उकालो पद यात्रा छिचोलेपछि मात्र आकर्षक र मनमोहक दृश्य त्रिवेणी र बडिमालिका देखिन्छ।
बादल आफूभन्दा तल हुन्छ। मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन डराउने अग्ला डाँडा, शृंखलाबद्ध पहाड कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन्।
बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ। धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्रा भने सुरु भइसकेको छ।
बडिमालिका छ नै त्यस्तो। पुग्न कठिन। पुगेपछि झर्न कठिन। यी सबै कठिनाइ बडिमालिकाप्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडि गौण हुन्छन्।
बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकाहरूलाई पुत्र प्राप्ति, धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ।
बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीबेती झन् अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेका खेत रोपिएको, धान रोप्न तयार गरिएजस्ता गह्रा र त्यसबीचमा फालिएका बिउका मुठा जस्ताका तस्तै छन्।
उहिले भगवती र महिशासुर राक्षसको लडाइँ हुँदा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किंवदन्ती रहेको बूढापाका बताउँछन्। बडिमालिका मन्दिरको धार्मिक महत्व मात्र नभई एक सय ४० भन्दा बढी जातका रंगीचंगी फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चराचुरुंगी पाइन्छ।
६ महिना घोडा तथा भेडा चराउनका लागि उपयुक्त चरिचरन क्षेत्र, २२ वटा घाँसे मैदान, तीनवटा नदीको संगम रहेको पवित्रधाम त्रिवेणी त्यहीं पर्छ। नियालिने अग्ला हिमशृंखलाहरूले तीर्थालुको मन लोभ्याउने गर्छ।
बडिमालिका पुगेकाहरूका लागि त्यो क्षेत्र सदा अविस्मरणीय रहिरहने बाजुरा जिल्लाका पूर्वप्रजिअ गोपाल अधिकारी बताउँछन्। ‘पुग्नेका लागि बडिमालिका जीवनभरिको स्मरण हो’, प्रजिअ अधिकारीले भने।
पछिल्लो समय बडिमालिकाको चर्चा हुँदै गएको छ, तर राज्यले पूर्वाधारमा लगानी गर्न नसकेको बाजुरा क्याम्पसका उपप्राध्यापक काशीप्रसाद जोशी बताउँछन्। ‘बडिमालिकालाई राज्यले आम्दानीको स्रोतका रूपमा पनि प्रयोग गर्न सक्छ। बर्सेनि हजारौं भक्तजन भेटीका रूपमा चुन, चाँदी, पैसादेखि बहुमूल्य गहना चढाउने गर्छन्। त्यसको कुनै रेकर्ड र लेखाजोखा छैन’, उपप्राध्यापक जोशी भन्छन्।
बडिमालिकाको सुन्दरता र धार्मिक आस्था जति छ, भौतिक संरचना नहुँदा त्यति नै समस्या छ। बडिमालिका माताको मूल मन्दिर भएको ठाउँमा कुनै संरचना बनेको छैन। धार्मिक पर्यटकका लागि खानेपानी शौचालयदेखि बास बस्नसमेत समस्या हुने गर्छ। मूल मन्दिर नै जीर्ण अवस्थामा रहेको छ। हाल रहेको मन्दिर सानो र एक मात्र ढोका भएकाले दर्शनार्थीलाई पूजा गर्न घन्टौं कुर्नुपर्ने बाध्यता छ।
जनैपूर्णिमामा बडिमालिकामा मेला लाग्छ । तीनवटा नदीको संगम रहेको त्रिवेणीधामको छुट्टै महत्व छ। भक्तजनहरू यहाँ पितृहरूको श्राद्ध गर्ने गर्छन्। बाजुरा जिल्लाको पोरखे लेक, मार्तडी, कोर्ध, मना र त्रिवेणीको नाटेश्वरी बडिमालिका पदयात्रीका लागि मुख्य–मुख्य पदमार्ग हुन्। त्यस्तै छिमेकी जिल्ला अछाम र कालीकोटबाट पनि दर्शालु आउने गरेका छन्। बाटोमा खाने, बस्ने व्यवस्था आफैंले गर्नुपर्छ।
मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरू सञ्चालन गरिएका हुन्छन्। भक्तजनहरूले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन्। यस वर्ष १२ हजार जति भक्तजनले बडिमालिका दर्शन गरेको मेला आयोजक समितिले अनुमान गरेको छ।
बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाड, थुप्रै ससाना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ। पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको बडिमालिकाका पुजारी भानुभक्त पाध्याय बताउँछन्।
प्राकृतिक अनुपम सौन्दर्यले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनमा छ। मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट धामी, झाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको छ। मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालु त्यहाँ मेला भर्न आउँछन्।
प्रकाशित: ३२ श्रावण २०८१ ०७:५५ शुक्रबार