७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गरिबीको रेखा मुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य

कोसी प्रदेशमा गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने महत्वकाँशी  लक्ष्यसहित कोसी प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार पारेको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०८१/०८२ देखि ०८५/८६ सम्मको दोस्रो  आवधिक योजनाले आर्थिक वर्ष ०८५/८६ सम्ममा कोसी प्रदेशमा गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष लिएको हो । 

सार्वजनिक गरिएको लक्ष अनुसार कोसी प्रदेशको आर्थिक वर्ष ०८०÷८१ मा गरिबीको रेखा मुनिको जनसंख्या १७.२० प्रतिशत रहेको छ । यसै गरी १० प्रतिशत रहेको बेरोजगारी दरलाई पनि घटाएर ५.४ प्रतिशतमा झार्ने लक्ष लिएको छ । यस्तै ३.८१ प्रतिशत रहेको आर्थिक वृद्धिदरलाई बढाएर ०८५÷८६ सम्ममा ७.५५ प्रतिशत पु¥याउने लक्ष दोस्रो आवधिक योजनाले लिएको छ । दोस्रो आवधिक योजनाको अन्त्यसम्ममा कोसी प्रदेशको प्रतिव्यक्ति आय १हजार ३ सय ३६ अमेरिकी डलरबाट बढाएर १ हजार ६ सय ४५ अमेरिकी डलर पु¥याउने लक्ष राखेको छ । 

आर्थिक वर्ष २०८५/०८६ मा कोसी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको अनुमान गरिएको छ । मातृ मृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने  लक्ष दोस्रो आवधिक योजनाले लिएको छ । त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने लक्ष लिइएको छ । त्यसै गरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने श्रम शक्ति सहभागिता दर ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । 

लैङ्गिक विकासको सूचांक ०.९२ पुर्‍याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्‍याउने लक्ष्य छ । आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्‍याउने, विधुत उत्पादन २ हजार २  सय मेगावाट पु¥याउने लक्ष लिएको छ । आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परिमाणात्मक लक्ष्य अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) १ हजार ३ सय १७.९५ अर्बमा पु¥र्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने, उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्‍याउने, सेवा क्षेत्रको वार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्‍याउने लक्ष आवधिक योजनाले राखेको छ  ।  

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अवका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले  पञ्च वर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरू प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच: ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश’ रहेको जानकारी दिए  । आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्याय सहित नागरिकमा खुसी वृद्धि गर्ने लक्ष राखेको बताए ।  

 

प्रकाशित: ३१ श्रावण २०८१ १९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App