३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

सूर्योदयमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरियो

इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षको बजेट, नीति र कार्यक्रममा दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरेको छ।

नगरले दिगो विकासका लक्ष्यलाई स्थानीय कानुनकै रूपमा पारित गरी चालु वर्षदेखि त्यसैअनुसार कार्यक्रम ल्याएको हो।

दिगो विकासको लक्ष्यअनुसार अबका प्रायः सबै मुख्य कार्यक्रम र योजनाको अन्तिम प्रतिफल प्राप्त गर्न छ वर्ष जति लाग्नेछ। अहिले चालु रहेका कतिपय योजनाको काम सम्पन्न हुँदै जाने भएपनि दिगो विकास लक्ष्यअनुसार दिगो प्रगति हासिल गर्न केही समय कुर्नुपर्ने नगरले जनाएको छ।

मेयर रणबहादुर राईले नगरको सुदूर भविष्यका लागि दिगो विकासका लक्ष्यलाई स्थानीय कानुनकै रूप दिएको बताए। ‘अब नगरका सबै कार्यक्रम यही लक्ष्यअनुसार अघि बढ्नेछन्,’ उनले भने, ‘बरु प्रतिफल पाउन केही समय कुर्नुपरोस् तर योजनाबद्ध र दिगो काम गरौँ भन्ने ध्येयले यसलाई कानुनकै रूप दिएका हौँ।’

उनले झट्ट हेर्दा देखिने प्रगति मात्र विकास नभई स्थानीय सरकारले गरेको विकास दीर्घकालसम्म प्रभावकारी हुनुपर्ने बताए। ‘संघीय सरकार र राष्ट्रिय योजना आयोगले पनि दिगो विकास लक्ष्यलाई नै प्राथमिकता दिएको देखिन्छ, हामीले पनि यसमा धेरै छलफल ग¥यौं,’ उनले भने, ‘मानव संशोधन वा मानवको गुणस्तरीय विकास भयो भने मात्रै अरू विकास हुन्छ भन्ने निष्कर्षमा पुगेर यसलाई स्थानीय कानुन नै बनाएका हौँ।’

उनले यसैअनुसार चालु वर्ष ३२ प्रतिशत बजेट सामाजिक विकासमा विनियोजन गरेको पनि बताए। यसअघि धेरै बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरेकामा अब २४ प्रतिशत मात्रै बनाइएको छ। जलवायु परिवर्तनले देशमा ल्याइरहेको सङ्कट र प्रकोपलाई पनि अबका योजनाले ध्यान दिने गरी नगरले कार्यक्रम ल्याएको मेयर राईको भनाइ छ।

दिगो विकासका १७ लक्ष्य छन्। सूर्याेदयले यीमध्ये १६ लक्ष्यलाई आफ्ना लागि उपयोगी मान्दै कानुनको रूप दिएको हो।

गरिबीको अन्त्य, भोकमरी अन्त्य, स्वस्थ तथा मर्यादित जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, दिगो सफा पानी तथा सरसफाइ सेवा, किफायती तथा आधुनिक ऊर्जामा पहुँच, समावेशी आर्थिक वृद्धि तथा मर्यादित काम, उद्योग नवीन खोज र पूर्वाधार, असमानता न्यूनीकरण, दिगो सहर तथा समुदाय, जिम्मेवार उपयोग र उत्पादन, जलवायु कार्य तथा विपद् व्यवस्थापन, वन, जलाधार तथा जैविक विविधता संरक्षण, शान्ति न्याय तथा सशक्त संस्था र दिगो विकास लक्ष्य प्राप्तिका लागि साझेदारी दिगो विकासका लक्ष्य हुन्।

यसअघि सूर्योदयले नगर सडक यातायात सञ्जालको २८ वर्षे गुरुयोजना बनाएको छ। त्यसैअनुरूप अहिले नगरमा नयाँ ट्र्याक खुल्न छाडेको नगरले जनाएको छ। नगरले यसैअनुरूप सबै वडामा सुविधा पुग्ने गरी ‘एक वडा–एक अलवेदर रोड’ कार्यक्रम पनि कार्यान्वयन गरिरहेको छ।

‘नगरमा अब नयाँ सडक बनाइने छैन, खुलिसकेका सडकलाई नै दिगो र पक्की बनाउने हो,’ मेयर राईले भने, ‘अनावश्यक ठाउँमा सडक बनाएर विकास हुने होइन, आवश्यक सडकलाई सुविधाजनक बनाउनुपर्छ।’

नगरमा स्वस्थ मानव पुँजी निर्माण गर्न ‘पोषणमैत्री नगर’ बनाउने कार्यक्रम पनि कार्यान्वयन भइरहेको छ। ‘नगरको इच्छा, छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रम पनि चालु छ। ‘जब मानव शिक्षित, नैतिक र सभ्य बन्छ, वास्तविक विकासको लहर त्यहीँबाट सुरु हुन्छ,’ उनले भने, ‘हामीले आम्दानीका स्रोत बढाउने, नगरको सौन्दर्य र प्रकृति बचाउने कार्यक्रम पनि दिगो लक्ष्यअनुसार नै ल्याएका छौँ।’ 

आम्दानीको स्रोत बढाउन, उन्नत जातका गाई, पशुको सेक्स्ड सिटेन वितरण गरी दूध उत्पादनको लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ। ‘दूधको लागत मूल्य घटाउन घाँसको बीउ वितरण गरिएको र दूध प्रशोधनमा लगानीको वातावरण बनाउने प्रयास पनि भइरहेको मेयर राई बताउँछन्।

दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने कार्य गरिएको भन्दै उनले कृषिलाई वातावरण अनुकूल खेती प्रणालीमा अघि बढाउने बताए। ‘कृषिमा नयाँ प्रविधि प्रयोग गर्दै किसानलाई यसैमा प्रोत्साहित गर्ने कार्यक्रम ल्याएका छौँ,’ उनले भने, ‘किसानले घरमै बसीबसी कृषिको प्राविधिक ज्ञान सीप हासिल गर्न पाउने गरी सफ्टवेयर विकास गरेका छौँ, केही समयभित्रै यो लन्च हुन्छ।’

कृषिमा विशेष गरी चिया, दूधलगायत विभिन्न नगदे बाली उत्पादन, ढुवानी, प्रशोधन र बजारीकरणमा नगरले दिगो विकास लक्ष्यअनुरूपकै कार्यक्रम अघि बढाउँदै गरेको उनको भनाइ छ। स्वास्थ्य, पर्यटन, शिक्षा, खेलकुद, सामाजिक विकास, वातावरण, भौतिक पूर्वाधारलगायत सबै क्षेत्रमा अब दिगो विकासको अवधारणा नै लागु गरिने नगरले जनाएको छ।

सूर्योदयले विभिन्न विकास योजना सञ्चालन गर्दा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्य योजनालाई पनि स्थानीय कानुनकै रूपमा पारित गरेको छ।

संयुक्त राष्ट्रसङ्घले नेपालका विशेष गरी स्थानीय सरकारले गरिरहेका विकास आयोजनाका काममा विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेबारे अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिरहेका बेला सूर्याेदयले देशमै सम्भवतः पहिलो पटक यो कार्य योजना पारित गरेको हो।

राष्ट्रसङ्घले आयोजना गरेको सेमिनारमा विश्वका दर्जनौँ देशका स्थानीय सरकार सहभागी हुँदा नेपालबाट तीन नगरपालिका (इलामको सूर्योदय, इलाम नगरपालिका र बाँकेको नेपालगञ्ज)मात्र सहभागी छन्। सूर्योदयले सेमिनारमा सहभागी भएपछि आफ्नो पालिका तथा नेपालमा यसको सम्भावना कस्तो छ भन्नेबारे प्रारम्भिक स्तर मूल्याङ्कन गरेको थियो।

यो हरेक काममा जोखिम र विपद् न्यूनीकरणको प्रयास भएको मेयर राईले बताए। ‘विभिन्न योजना बनाउँदा हेरिने रिक्स फ्याक्टर हो यो। हामी बाटो, पुल, भवनलगायत संरचना बनाउँछौँ तर कुन ठाउँमा खोलो, पहिरो वा विपत्ति आइलाग्छ भन्ने हेर्दैनौँ र बजेट छुट्याउँदैनौं,’ उनले भने, ‘भूकम्प पनि विपद् हो। कृषिमा लगानी गर्दा बालीनाली कीरा–फट्याङ्ग्राले खानु, वन्यजन्तुले नास गर्नु पनि जोखिम नै हो। यसरी भइरहेको जोखिम पहिचान, न्यूनीकरण र बजेटसहितको योजना बनाउने विषय हो यो ।’

यो भइरहेको जोखिम पहिचान र न्यूनीकरण गर्ने तथा सम्भावित जोखिम रोक्न आवश्यक प्रक्रिया अघि बढाउने, अब प्रत्येक संरचना बनाउँदा विपद्को पाटोमा ध्यान दिने विधि भएको उनले जनाए।

‘यसमा सूर्योदयले अलि बढी नै चासो दिएकाले पनि राष्ट्रसङ्घले हामीलाई नजिकबाट चिनेको छ। हामीले युएनडिआरआरमा नगरको परिचय बनाइसकेका छौँ,’ मेयर राईले भने, ‘अहिले विश्वका अन्य नगरले समेत सूर्याेदयको योजना हेरेका छन् र हामीसँग अनलाइनमार्फत सुझावसमेत लिइरहेका छन्। लिस्ट डेभलप देशको तर्फबाट सूर्योदयले नै नेतृत्वदायी सहभागी जनाएकाले बेला–बेला यस्ता देशका नगरबीच भर्चुअल बैठक पनि आयोजना भइरहेका छन्।’

प्रकाशित: २९ श्रावण २०८१ ११:३५ मंगलबार

#Suryodaya Municipality