२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

गोलभेँडाले रोक्यो विदेश सोझिएका पाइला

झलका ऐडीले उत्पादन गरेको टमाटर। तस्बिर: गाेल्डेन बुढा/नागरिक

जुम्ला चन्दननाथ नगरपालिका-२ बुढ्थाबाडा गाउँकी ३२ वर्षीय झलका ऐडी (बुढथापा) ले आफ्नो जीवनलाई एउटा नयाँ मोड दिएकी छन्।

दुई वर्षसम्म सरकारी सेवामा छनोट भए पनि अन्तर्वार्तामा असफल भएपछि उनी विदेश जान चाहिन्। तर, श्रीमान्‌को आग्रहमा कृषि व्यवसायमा हात हालेकी झलका अहिले सफल उद्यमीको रुपमा स्थापित भएकी छिन्।

२०७१ सालमा कृषि जेटिए पूरा गरेपछि सरकारी सेवामा प्रवेश गर्ने प्रयास गरेकी झलका दुवै वर्ष महिला, खुल्ला र पिछडिएको कोटामा नाम निकाल्न सफल भइन्। तर, दुर्भाग्यवश अन्तर्वार्तामा असफल भएपछि विदेश जान तयार थिइन्। उनको श्रीमान् अजय बुढथापाले "कृषि पढेको मान्छे, किन जान्छौं दुख खेप्न परदेश ?" भनेर सम्झाएपछि उनले विदेश जान छोडेर व्यावसायिक रुपमा गोलभेँडा खेती सुरु गरिन्।

उनले ०७७ सालमा २१ वटा बिरुवाबाट सुरु गरेको गोलभेँडा खेती अहिले २ हजार १ सय गोलभेँडाका बिरुवामा विस्तार भएको छ। विषादीरहित गोलभेँडा उत्पादन गर्दै आएको उनको फर्मले पहिलो वर्षमा नै पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्‍यो। अहिले ४० रुपैयाँ प्रतिकिलोमा गोलभेँडा बिक्री गर्दै आएकी झलका यस वर्ष आठ लाख रुपैयाँसम्म कमाउने लक्ष्य राखेकी छिन्।

उनको खेती अहिले पाँच हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ, जसमा २ हजार ५ सय वर्गमिटर क्षेत्रफल लिजमा र बाँकी आफ्नो जमिनमा छ। गोलभेँडा बाहेक, बन्दा, काउली, काँक्रा, सिमी लगायतका तरकारी पनि उनी उत्पादन गरिरहेकी छिन्।

गाउँमा पहिलो पटक व्यावसायिक गोलभेँडा खेती गर्ने झलकाको पौरखले धेरैलाई प्रभावित पारेको छ। उनको सफलताले गाउँका अन्य महिलालाई पनि कृषि व्यवसायमा अघि बढ्न प्रेरित गरेको छ। हालै, उनलाई कर्णाली प्रदेश अन्तर्गतको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ।

झलका ऐडीको सफलताले देशमै कृषि कर्म गरेर आत्मनिर्भर बन्न सकिने प्रमाणित गरेको छ। उनका श्रीमान् अजय बुढथापाले टमाटर उत्पादनमा भइरहेको चुनौतीलाई समाधान गर्न राज्यले संकलन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

योङ्ग स्टार मल्टि एग्रो फर्म मार्फत सञ्चालन भइरहेको झलकाको फर्मले सिजनमा ९ जनालाई नियमित रोजगारी दिएको छ। टमाटर बिक्री नभएर कुहिनु भन्दा सस उत्पादन गरी ६ महिनासम्म बिक्री गर्ने योजना समेत बनाइएको छ।

प्रकाशित: २६ श्रावण २०८१ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App