धरानमा खानेपानीको महसुस वृद्धि गरेको विरोधमा बिहीबार प्रदर्शन गरिएको छ। उपमहानगरपालिकाले बढाएको शुल्कविरुद्ध आन्दोलनरत १० राजनीतिक दल र उपभोक्ताले प्रदर्शन गर्दै उपमहानगरपालिका घेराउ गरेका हुन्। उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत उपमहानगर गेटमा भेला भएर घेराउ गरेका हुन्। सो क्रममा प्रदर्शनकारीहरू उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।
धरानमा मेयर हर्क साम्पाङ अध्यक्ष रहेको खानेपानी बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी नौ सय प्रतिशतसम्म शुल्क र महसुल वृद्धि गर्ने निर्णय गरेपछि सो निर्णयको खारेजीको माग गर्दै १० राजनीतिक दलले चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
आन्दोलनकै क्रममा राजनीतिक दलहरूले बोर्डको कार्यालयमा तालाबन्दी गरेकोमा उच्च अदालतले दलहरूविरुद्ध रिट दायर गरेका मेयर साम्पाङको पक्षमा अल्पकालीन आदेश दिएको थियो। त्यसलगत्तै दलहरूले आफैं ताला खोलेर आन्दोलनको स्वरूप परिवर्तन गरी उपमहानगरपालिका केन्द्रित गरेका हुन्।
२०७४ सालयता धरानमा खानेपानीको महसुल बढेको थिएन। सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महसुल पनि बढाएको मेयर साम्पाङले बताउँदै आएका छन्।
प्रकाशित: २६ श्रावण २०८१ १०:२५ शनिबार