१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

वर्षामा काठमाडौं डुबाउने चार कारण

भारी वर्षाका कारण मंगलबार जलमग्न टेकु करिडोर। तस्बिर: नागरिक

जब काठमाडौंमा वर्षा हुन थाल्छ, सडक डिभिजन कार्यालयका कर्मचारीले पानी तान्ने जेट मेसिन तयारी अवस्थामा राख्ने गर्छन्। पानी पर्नेबित्तिकै तीनकुने, माइतीघर मण्डल लगायतका सडक जलमग्न हुन्छन्।

तीनकुनेमा त पानीको सतह बढेर एक फिटदेखि डेढ फिटसम्म पुग्ने गर्छ, त्यसपछि सडक डिभिजन काठमाडौंका कर्मचारी जेट मेसिन बोकेर पानी परिरहेकै बेला पनि पानी फाल्न थाल्छन्। ‘वर्षेनी यस्तै भइरहेको छ। जेट मेसिनबाट काठमाडौंका सडकमा जलमग्न भएको पानी फाल्ने गर्छौं,’ सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले भने।

प्राविधिकका अनुसार भारी वर्षा, अति भारी वर्षा परै जाओस् मध्यम वर्षा हुँदा पनि काठमाडौं डुब्ने गर्छ। यसमा मुख्यतः चारवटा कारण रहेको उनीहरूको भनाइ छ। यसमा पहिलो कारण हो, सडक विभागले पानी फाल्नका लागि बनाएको नाला र नाला जोड्ने मंगलमा स्थानीय, वडा कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागले जथाभावी ढल जोड्दा यस्तो समस्या आएको हो। आकासे पानी सफा हुने भएकाले सजिलै बग्ने गर्छ तर ढलको पानी फोहोर र केमिकलयुक्त हुँदा पानी बग्न ढिलो हुन्छ।

‘वर्षामा आएको आकासे पानी यतिसम्म जम्मा हुन्छ र यस्तो नाला बनाउँदा निकास पाउँछ भनेर अध्ययन गरेरै नाला बनाइएको छ। तर हामीले बनाएको नाला र मंगलमा जथाभावी ढल जोड्दा नालाले पानीको बहाव थेग्न सक्दैन र पानी सडकसम्म पुग्छ,’ प्रमुख भण्डारीले भने, ‘यस विषयमा हामीले ढल विभाग, वडा कार्यालय र स्थानीयलाई पटकपटक ध्यानाकर्षण गराएका छौं। ढल जोड्नै परे हामीसँग सहमति लिनुहोस् भनी पटकपटक चिठी पठाएका छौं। तर हाम्रो सुनुवाइ भएको छैन।’

उनका अनुसार केन्द्र सरकारले बनाएका सबै सडकमा पानी निकासका लागि नाला बनाइएको हुन्छ।

कहीँ हेमपाइप राखिएका हुन्छन्। तर ती नाला र हेमपाइप नेदेखिने गरी व्यवस्थापन गरिएको हुन्छ।

काठमाडौंको जमिनमा पानी सोस्न क्षमता घट्दै गएकाले यस्तो समस्या आएको विज्ञ बताउँछन्। यो दोस्रो कारण हो। पछिल्लो समय काठमाडौंमा कंक्रिटको प्रयोग बढ्दै गएको छ। कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहमा बग्ने गरेको विज्ञ बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाडौंका सडक जलमग्न हुने गरेका छन्।

विज्ञहरू वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमतीलगातय नदीको बहाव क्षेत्र (पानी बग्ने क्षेत्र) घटाइएको र घटाइएको क्षेत्रले पानीको बहाव थेग्न नसकी सडक तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको बताउँछन्।

यो तेस्रो कारण हो। यसैगरी नदीमुनि थेग्रिँदै गएको बलौटे माटो, बालुवा र फोहोरले नदीको सतह बढाउँदै गएको र यसबाट वर्षा हुनेबित्तिकै पानी ओभर फ्लो भई सडकमा पुग्ने गरेको उनीहरूको भनाइ छ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति तथा बागमती सुधार आयोजनाले २०६९ जेठ २५ गते बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र तोकेको थियो, जुन वैज्ञानिक अध्ययनबिनै तोकिएको थियो। नदीपरिपरि उपलब्ध भएको जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो, त्यस बेलासम्म नदीको दायाँबायाँ किनाराको जग्गा अतिक्रमण भइसकेको थियो, नदीसँग जति जग्गा बचेको थियो, त्यही जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो।

विज्ञका अनुसार बागमती नदीको उद्गमस्थल बागद्वारदेखि कटुवाल दहसम्म पुग्दा यसको बहाव क्षेत्र २० मिटरबाट सुरु भई ११९.६३ मिटरसम्म हुनुपर्थ्याे। त्यसपछि यसको बहाव क्षेत्र ठाउँ हेरेर कहीँ बढ्ने र कहीँ घट्ने गर्छ। समथर भूभाग भएको ठाउँमा बहाव क्षेत्र बढी चाहिन्छ भने भिरालो भूभाग भएको ठाउँमा बहाव क्षेत्र अलि कम भए पनि पुग्छ।

अध्ययनमा बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर चौडाइ हुनुपर्नेमा अहिले २० मिटर मात्रै छ। यसैगरी गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटरमा ३० मिटर मात्रै छ।

यसैगरी मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपर्नेमा अहिले ६० मिटर मात्र छ। यसैगरी धोबीखोलादेखि विष्णुमती दोभानसम्म सय मिटर हुनुपर्नेमा ६० मिटर मात्र छ।

यसैगरी नख्खु खोला दोभानदेखि कटुवाल दहसम्म ११९.६३ मिटर हुनुपर्नेमा अहिले ८० मिटर मात्र छ। वर्षा सुरु हुनेबित्तिकै सडकवरिपरि र सडकनजिकैको बस्तीमा जम्मा भएको पानी सोझै सडकमा लग्ने गरिन्छ। बस्तीमा जम्मा भएको पानी बग्न पाउँदैन, ठाउँ दिइँदैन। कुलाखोल्साबाट बग्न सक्दैन। ‘त्यसपछि सरासर सडकमा जान्छ र जम्मा हुन थाल्छ,’ भण्डारीले भने।

कहाँकहाँ डुब्छ काठमाडौं?

सडक विभागका प्राविधिक कर्मचारीका अनुसार काठमाडौंका ‘भ्याली क्रप’हरू विशेष गरी पानीले डुब्न गर्छन्। तीनकुने, कोटेश्वर बस स्टेसन, माइतीघर, अनामनगर हनुमानस्थान, मित्रपार्क लगायत ठाउँलाई सडकका प्राविधिक कर्मचारीले भ्याली क्रप भन्ने गरेका छन्। के हो त भ्याली क्रप भनेको? एक प्राविधिक कर्मचारीका अनुसार दुइतिर अलि अग्लो, बिचमा होचो भएको सडकलाई भ्याली क्रप भन्ने गरिएको हुन्छ।

यस्तो ठाउँमा सानो पानी पर्दा पनि जम्मा हुने गर्छ तर त्यस्ता सबै ठाउँमा सडक विभागले जमिनमुनि नदेखिने गरी हेमपाइप अथवा नाला राखेर पानीलाई निकास दिने व्यवस्था मिलाएको हुन्छ।

‘तीनकुनेमा जम्मा भएको पानी बगाउन जमिनमुनि नाला राखेर बागमती नदीसम्म पुर्‍याइएको छ। त्यसका लागि ठाउँठाउँमा मंगल राखिएको छ। तर मंगलमा ढल जोडेपछि तीनकुनेमा जम्मा भएको पानी राम्रोसँग बग्न पाउँदैन,’ भण्डारीले भने।

प्रकाशित: २४ श्रावण २०८१ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App