जुम्लाको सिंजा गाउँपालिका-६ का भिमबहादुर रावतलाई दुई साताअघि भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिमलास्थित स्याउ बगानका मालिकबाट फोन आयो। ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, छिटो आउनुपर्यो।’
साउन ३ गते रावत दश जना अरू कामदारसहित नेपालगन्जको रुपडिया नाका हुँदै स्याउ टिप्न सिमलातिर लागे। उनीसँगै कर्णाली प्रदेशका विभिन्न जिल्ला र अन्य जिल्लाका कामदार पनि थिए। जसमा धेरैजसो अघिल्ला वर्षहरूमा पनि स्याउ टिप्न गएकाहरू र केही नयाँ अनुहार पनि थिए।
‘साउनदेखि कात्तिकसम्म स्याउ टिप्न भ्याइनभ्याइ हुन्छ,’ भिमबहादुर भन्छन्, ‘हामीले स्याउ टिप्ने र खाडल खन्ने काम पाउँछौं र त्यही गर्छाैं।’
उनका अनुसार विगतमा ग्रेडिङको काम पनि पाइन्थ्यो, तर अहिले मेसिनबाटै ग्रेडिङ र प्याकिङ हुने भएकाले टिप्ने र बोक्ने काम मात्र पाइन्छ।
केही वर्षअघि उनी गाउँमै भएकाे प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि सहभागी भएका थिए। तर एक महिनामै पुनः बेरोजगार भए। उनले एक महिना काम गर्दा हातमा १५ हजार ५ सय रुपैयाँ मात्र परेको थियो।
‘त्यत्तिखेर एक जनाले ३० दिन मात्र काम गर्न पाइने नियम थियाे,’ उनी भन्छन्, ‘अरू काम खोजौं भने नेपालमा राम्रो ज्याला दिँदैनन्। भारत नगई घर खर्च चल्दैन, परिवार पाल्नै मुस्किल हुन्छ।’
उनीसँगै मिमबहादुर रावतलाई पनि स्याउ बगानका मालिकको फोन आएपछि सिमलातिर हिँडेका छन्। ‘गरिबको जिन्दगी यस्तै हो,’ उनी भन्छन्, ‘काम नगरे खान पुग्दैन। जहाँ काम पाइन्छ, त्यहाँ त पुग्नैपर्छ। मालिकले स्याउ टिप्न आउन भन्दै फोन गरेका छन्। दुई/तीन महिना स्याउ टिपेर दसैँका लागि घर फर्किन्छौं।’
यसैगरी, १२ कक्षामा पढ्ने रविन बुढा पनि सिमलातर्फ लागेका छन्। त्यहाँ दुई महिना काम गरेर फर्कने उनकाे योजना छ। ‘दुई महिना जति स्याउ टिप्छु अनि फर्कन्छु,’ उनले भने।
उनी घर खर्च र पढाइ खर्च जुटाउन भारत हानिएका हुन्। गाउँघरमा कतै रोजगार नपाएपछि पेट पाल्नकै लागि स्याउ टिप्न जान लागेको उनी सुनाउँछन्।
उनले स्याउ टिप्ने कामबाट दैनिक साढे ४ सयदेखि ५ सय र बोकेको दूरीका आधारमा प्रति क्रेट ५ देखि १० रुपैयाँसम्म पाइने बताए।
एक दिनमा दुई/अढाई सय क्रेट स्याउ टिप्न सकिने उनी बताउँछन्। ‘महिनामा २०/२५ हजार भारु जोगिन्छ,’ उनी भन्छन्, ‘कोही दसैँका फर्कन्छन्, कोही तिहारसम्मै काम गर्छन्।’
कर्णाली प्रदेशका कामदारका लागि सिमला पुरानै रोजगारको गन्तव्य हो। वर्षायाममा खेतीपातीको काम सकेपछि दसैँसम्म बेरोजगार युवा स्याउ टिप्न भारतको सिमला जाने चलन छ।
जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु लगायतका अधिकांश युवा कामको खोजीमा भारत जाने गर्छन्। स्थानीय स्तरमा सबैले रोजगारी पाउने स्थिति नआएसम्म रोजगारीका लागि परदेश जानैपर्ने बाध्यता उनीहरुकाे छ।
दसैंतिहारका लागि घर फर्केकाहरू पनि जोै र गहुँ छरेर फेरि सिमलातिरै फर्किन्छन्। त्यतिबेला घाँस काट्ने काम पाइन्छ। कतिपय विकास निर्माणका काममा ज्याला मजदुरी गर्छन्।
दैनिक जसो सयभन्दा बढी यस क्षेत्रका युवाहरु रोजगारीको खोजीमा भारत हानिन्छन्। युवायुवतीदेखि वृद्ध वृद्धासमेत कामको खोजीमा दौडिरहेका हुन्छन्।
प्रकाशित: २३ श्रावण २०८१ २१:४० बुधबार