१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगरमा अब ट्राफिक लाइट अनुसार गुड्छ गाडी

कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछी चोकमा सोमबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ।

असार अन्तिम साता जडान गरिएको ट्राफिक लाइट एक महिनापछि सञ्चालनमा ल्याइएको हो।

विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले उद्घाटन गरे। बरगाछीमा बिहान र बेलुका सवारीसाधनको अत्याधिक चाप हुने र दुर्घटना दैनिक जसो हुने गरेको थियो।

सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याएको हो। लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको बताए। उनले ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने बताए।

जनघनत्व र सवारी चापको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट राख्ने योजना बनाइएको बताउँदै, मन्त्री अधिकारी भने, ‘केही दिनभित्र उदयपुरमा पनि ट्राफिक लाइट सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ। उदयपुरमा पनि यसअघि नै लाइट जडान गरिसकिएको छ । प्राविधिक पक्षको परीक्षण गर्ने काम भइरहेको छ।’

ट्राफिक लाइट उद्घाटन लगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो। मन्त्रालयको २३ लाख रुपैयाँको लागतमा लाइट जडान गरेको बताइएको छ । बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ। ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा लामो समयसम्म सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । 

लाइट एक महिनाअघि नै जडान गरिएको हो। तर, जेब्रा क्रस निर्माण र प्राविधिक पक्षको विश्लेषण बाँकी रहेका कारण यसअघि सञ्चालनमा ल्याउन सकिएको थिएन। कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा छन्। विराटनगरका अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

लाइट जडान गरेर सञ्चालनमा ल्याइए पनि सर्वसाधारणले सडक लेन स्पष्ट नहुँदा र चोकदेखि पूर्वतर्फ सडक साँघुरो भएकोले नियमसंगत उभिन नसकेको गुनासो गरेका छन्। उनीहरुले स्पष्ट लेन सेतो ‘लाइन’ नहुँदा कता उभिने भन्ने समस्या रहेको हुँदा सम्बन्धित निकायले सेतो धर्का स्पष्ट र जेब्रा क्रस स्पष्ट बनाउने पर्ने गुनासो गरेका छन्। 

प्रकाशित: २१ श्रावण २०८१ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App