९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

महिलाको भरमा भक्तपुर

भक्तपुर अहिलेसम्मकै सबैभन्दा बढी महिला कार्यालय प्रमुख रहेको जिल्ला बनेको छ। भक्तपुरमा जिल्ला प्रशासन कार्यालयदेखि अस्पताल तथा अन्य कार्यालयहरूमा महिला हाकिमहरू छन्। प्रमुख जिल्ला अधिकारीदेखि भक्तपुर अस्पतालसम्म  जिल्लाका ११ वटा कार्यालयमा महिला प्रमुखहरूले कुशलतापूर्वक नेतृत्व गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले राखेको तथ्यांकअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी सिडिओमा रोशनीकुमारी श्रेष्ठ, भक्तपुर अस्पतालको प्रमुखमा मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम प्रमुख छन्। 

साथै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखमा कमला ज्ञवाली, स्वास्थ्य कार्यालय प्रमुखमा अस्मिता ओझा, राष्ट्रिय कला संग्रहालय प्रमुखमा जयन्ती श्रेष्ठ प्रधान छन्। 

यस्तै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय स्मारक अधिकृतमा अरूणा नकर्मी, जिल्ला हुलाक कार्यलयको हुलाक अधिकृतमा सीता साम्बा, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कार्यकारी अधिकृतमा मेरिना चित्रकार छन्। साथै गुठी संस्थान शाखा कार्यालय भक्तपुरको कार्यालय प्रमुखमा खिमा वली, व्यावसायिक किट विकास फार्म चित्तपोल भक्तपुरको वरिष्ठ बाल संरक्षण अधिकृतमा सुलोचना श्रेष्ठ र प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरी नायब उपरीक्षक (डिएसपी) मा दिप्सी कार्की छन्। 

भक्तपुरकी प्रजिअ रोशनीकुमारी श्रेष्ठले जिल्लामा सबैभन्दा बढी महिला कार्यालय प्रमुखहरू अहिले भएको जिल्ला मात्रै नभई सबैबाट उत्कृष्ट कामहरूसमेत गरिरहेको दाबी गरिन्। हेर्दा सामान्य काम होस् अथवा पृथक् काम नै किन नहोस्, महिला हाकिमसाबहरूले राम्रो गरिरहनुभएको छ,’ उनले भनिन्, ‘दैनिक बिहान १० बजे नै नियमित कार्यालय पुग्नेमा म पनि एक हुँ, हेर्दा यो सामान्य काम लाग्छ।’

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार यी महिला कार्यालय प्रमुखहरू र पत्रकारहरूबीच अन्तक्र्रियाको समेत आयोजना गरेको थियो। अन्तक्र्रियामा जिल्लाका महिला कार्यालय प्रमुखहरूले आफूले गर्दै आएका कामको विवरण पत्रकारहरूलाई सुनाएका थिए। साथै उनीहरूले गरेका फरक कामहरूबारे पनि उनीहरूले पत्रकारहरूलाई जानकारी गराएका थिए। प्रहरी वृत्त जगाती भक्तपुरकी प्रमुख डिएसपी दिप्ती कार्कीले भनिन्, ‘प्रहरी कर्मचारीहरूमा कुनै किसिमको व्यक्तिगत समस्या हुँदा पनि उनकी पत्नी वा नजिकको आफन्त को हो ? कता हो ? कसलाई सम्पर्क गर्ने हो ? अत्तोपत्तो थिएन तर म आएपछि मैले प्रहरी कर्मचारीहरूको विवरण पनि राख्ने गरेको छु, ताकि केही पर्दा परिवारलाई सम्पर्क गर्न सहयोग मिलोस्।’

उनले आफू वृत्तको प्रमुख भएदेखि गल्ती गर्ने वा अपराधीहरूलाई सजाय दिइहाल्नेभन्दा पनि उनीहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिने गरेको सुनाइन्। सजाय नै समस्याको समाधान होइन, उनीहरूलाई सच्याउन मुख्य उद्देश्य हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसकारण कारबाही गरिहाल्ने, सजाय दिइहाल्ने भन्दा पनि सुधार गृहमा पठाउने, मानसिक अस्पतालमा पठाउने काम गर्दै आएकी छु।’

कार्यक्रममा अन्य महिला कार्यालय प्रमुखहरूले पनि आफूहरूले गर्दै आएको कामबारे कार्यालयमै उपस्थित भई बुझिदिन अनुरोध गरे। उनीहरूको एउटै भनाइ थियो, ‘हामीले हाम्रो काम यहाँ भनेर भन्दा बढी यहाँहरू नै हाम्रो अफिसमा आई सेवाग्राहीसँग हामीले प्रवाह गर्दै आएको सेवाबारे बुझ्नुभयो भने धेरै राम्रो हुन्छ।’

प्रकाशित: २१ श्रावण २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App