उद्गमस्थल अफ्रिकाबाट अन्य चिसो महादेशमा बसाइँसराइ गर्दा परिवर्तित वातावरणमा अनुकूलित हुन मानव पुर्खालाई खास वंशाणुले सहयोग गरेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यही वंशाणुगत परिवर्तनले मानव पुर्खाको बाँच्न सक्ने तुलनात्मक क्षमता बढाएको वैज्ञानिक तर्क छ।
अफ्रिकाबाट ७० हजार वर्षअघि आधुनिक मानव अन्य महादेशमा बसाइँसराइ गरेको र हाल सबै महादेशमा बसोबास गर्ने मानिस यिनै पुर्खाका सन्तान रहेको मानिन्छ।
मानव पुर्खालाई हिमयुगको अत्यन्त चिसो वातावरणमा पनि दक्षिण अफ्रिकाको न्यानो वातावरणले सुरक्षित राखेको थियो। दक्षिण अफ्रिकाको गर्मीमा वातानुकूलित हुने क्रममा मानव पुर्खाको शरीरमा रहेका बाक्ला राैं झरेका थिए। जब मानव पुर्खा चिसो क्षेत्रमा बसाइँसराइ गर्न थाले तब उनीहरू सिकारी तथा संग्राहक (हन्टर–ग्यादरर) जीवनबाट कृषि तथा पशुपालनतर्फ उन्मुख भएका थिए। यो परिवर्तनले मानव उद्विकास तथा विविधतालाई नयाँ आकार दिएको थियो भने परिवर्तित वातावरणमा अनुकूलित हुन मानव पुर्खा बाध्य बनेको थियो।
अफ्रिकाबाट सुरुमा बसाइँ सरेर अत्यन्त चिसो वातावरणमा आधुनिक मानवका पुर्खा कसरी अनूकूलित भए भन्ने अझै प्रस्ट भैसकेको छैन। पछिल्ला दुई दशकमा भएका अध्ययनले मानिसको बोसो तथा मोटोपनासँग सम्बद्ध एफटिओ वंशाणु (जिन) भित्र रहेको डिएनएको विविधता र बोसोका कोषिकाको तातोपना सिर्जना गर्ने क्षमताबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएका छन्।
‘टाइप सी’ भनिने भेरियन्टमा वंशाणुगत परिवर्तन नगरिएका मुसाहरूमा गरिएको एक अध्ययनले ती मुसाका खैरो रङका मोटा तन्तुमा अधिक न्याना सिर्जना गर्ने क्षमता बढेको र केही मात्रामा अत्यधिक चिल्लोपनाले सिर्जना गर्ने मोटोपनलाई प्रतिरोध गरेको देखिएको थियो। यस्तै समान भेरियन्टका वंशाणुका कारण मानवसहित अन्य स्तनधारी जीव चिसो वातावरणमा आफूलाई अनुकूलित राख्न सफल रहेको वैज्ञानिक तर्क छ।
पछिल्लो वैज्ञानिक अध्ययनअन्तर्गत वैज्ञानिकले बुढ्यौलीका लागि जिम्मेवार मानिने वंशाणुसमेत पत्ता लगाएका छन्। मानव पुर्खाका विभिन्न समूहको वंशाणुगत भिन्नतालाई समीक्षा गर्ने क्रममा वैज्ञानिकले ‘सी–भेरियन्ट’ र पृथ्वीको सतहको जनवरीमा हुने सरदर तापक्रममा अप्रत्यक्ष सह–सम्बन्ध रहेको पाएका छन्। यही कारणले चिसो स्थानमा यो भेरियन्टको उपस्थिति अधिक पाइएको थियो।
मानव पुर्खाको ‘सी भेरियन्ट’ मा आएको परिवर्तनले बसाइँसराइको रुटलाई ट्र्याक गर्नसमेत सहज भएको वैज्ञानिकले बताएका छन्। अफ्रिकाबाट युरेसियातर्फ प्रस्थान गर्ने क्रममा चिसो वातावरणमा अनुकूलित हुन ‘सी–भेरियन्ट’को आवृत्तिमा महत्त्वपूर्ण परिवर्तन आएको वैज्ञानिक बताउँछन्।
यही आनुवंशिक भिन्नता भएका मानव पुर्खा आफ्नो शरीरमा अधिक तातोपना निकाल्न सफल भएको र यसले चिसोमा पनि बाँच्न सक्ने तुलनात्मक क्षमता बढाएको मानिएको छ। अन्य वंशाणुगत परिवर्तनसँगै यो परिवर्तन मानव पुर्खालाई उपयोगी बनेको तर्क अध्ययनमा सहभागी वैज्ञानिकको छ।
‘हाम्रो डिएनएले मानव उद्विकासका हरेक महत्त्वपूर्ण क्षणलाई विश्वसनीय तबरले रेकर्ड गरेको छ,’ वैज्ञानिकले भनेका छन्।
विश्वम शंकरम,बेलायती पत्रिका दी इन्डेपेन्डेन्टबाट साभार
प्रकाशित: १९ श्रावण २०८१ ०५:३५ शनिबार