५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ।

यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो।

बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए।

उनका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोसाक वितरण गरिएको हो।

आइतवार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो। कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताए। उनले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा गरे।

टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ। उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको छ। गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक रु तीन लाख दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिए।

यो सुविधासँगै टाढाका विद्यार्थीहरु आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ। अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरु पैदल हिँडेर पढ्न आउने गरेका छन्। कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ।

समयमै विद्यार्थी विद्यालय आउन पाउँदा उनीहरुको पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताए। घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुँदा विद्यार्थी र अभिभावक हर्षित छन्।

बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो । उक्त मेलाबाट खर्च कटाएर रु ११ लाख २५ हजार मुनाफा भएको थियो।  मुनाफामध्ये रु ५० हजार स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिए।

मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ। मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए। रासस

प्रकाशित: १४ श्रावण २०८१ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App