७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन्।

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ । ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठापूर्वक पुयाउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्युभएको थियो ।

सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका थिए। दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  

प्रकाशित: ११ श्रावण २०८१ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App