१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

विमान दुर्घटना: मृतककाे शव पहिचानको काम सुरु

सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाहरुको शव परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरु गरिएको जानकारी दिए।

उनका अनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ। अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उनीहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा. चौधरीले जानकारी दिए।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए।

“आफन्तजनले दिएको विवरण अनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ। सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा. चौधरीले भने, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ।”

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ। शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ।

उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए।

डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ। शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटिएकाे छ। आज (बुधबार) बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियाे।

प्रकाशित: ९ श्रावण २०८१ २१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App