काठमाडौं – जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन्।
वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टे, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्। सन् २००६ मा ५ जिल्लामा मात्रै देखिएको डेंगी ज्वरो अहिले ४० जिल्लामा फैलिइसकेको छ। त्यसैगरी सन् १९५० मा तराईका केही जिल्लामा देखिएको मलेरिया अहिले ६७ जिल्ला फैलिएको छ। केही वर्षअघिसम्म बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बढी जोखिम रहेको जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका बिरामी पनि अधिक जिल्लामा पाइएका छन्। ‘लामखुट्टेजस्ता कीटहरु तल तराईमा तापक्रम बढेर टिक्नै नसक्ने वा मर्ने अवस्था हुन थाल्यो। पहिला तराईमा मात्र पाइने लामखुट्टेजस्ता कीट अहिले २ हजार फिटभन्दा माथि गएर बस्न थालिसकेका छन्,’ डा. धिमालले भने।
अनुसन्धान परिषद्कै एक छुट्टै अध्ययनले तापक्रममा १ प्रतिशतले वृद्धि हुँदा झाडापखालाका बिरामी ४.५ प्रतिशतले बढिरहेको देखाएको छ। हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढ्दा झाडापखालाका बिरामीको दर १३ प्रतिशतसम्म बढ्ने गरेको अनुसन्धानले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन्।
अर्का अनुसन्धानकर्ता डा. सिर्जनलाल श्रेष्ठका अनुसार ३० वर्षको तापक्रम र वर्षाको प्रवृत्तिसँगै झाडापखालाका बिरामीको संख्या (१२ वर्षको) विश्लेषण गर्दा जलवायु परिवर्तनको प्रत्यक्ष असर झाडापखालाका बिरामी बढिरहेको देखिएको छ।
सन् २००९ मा जाजरकोटमा करिब ४ सयजनाको ज्यान जानेगरी फैलिएको झाडापखाला÷हैजाको प्रकोप पनि जलवायुजन्य कारणसँग जोडिएको बुझाइ वैज्ञानिकहरुको छ। सुरुमा लामो खडेरीपछि वर्षा हुँदा पानीको मुहानमा संक्रमण भई हैजा फैलिएको पाइएको थियो।
काउन्सिलका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेका केही असर वैज्ञानिक अनुसन्धान, समुदाय र स्वास्थ्यका कार्यक्रमले समेत प्रमाणित गरिसकेको बताए। केही विषयमा अझै थप र व्यवस्थित अध्ययन जरुरी रहेको झाको भनाइ छ।
डा. झाले पानीको अभाव, बाढीपहिरो, खाद्यसंकट, पोषण अभाव, वायु प्रदूषणका कारण मुटु र श्वासप्रश्वाससम्बन्धी रोग वृद्धि भएको भन्दै अनुसन्धान थप आवश्यक भएको बताए। ‘सडक दुर्घटना पनि जलवायु परिवर्तनसँग जोडिएका विषय हुन्’, डा. धिमालले भने, ‘कतिपय आत्महत्याका घटना पनि जलवायु परिवर्तनजन्य कारणले भएको छ। यसतर्फ अझै बढी अनुसन्धान चाहिने बेला भएको छ।’ भारतमा जलवायु परिवर्तनले गर्दा खडेरी, अतिवृष्टि, अनावृष्टिजस्ता कारणले किसानमा आत्महत्या दर बढेको पाइएको डा. धिमालले बताए। विज्ञहरुले तापक्रम वृद्धिसँगै तराई क्षेत्रमा बस्नै नसक्ने भएकाले लामखुट्टे हिमाली र पहाडी क्षेत्रमा बढिरहेको बताएका छन्।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुबोध शर्माले जिरीमा गरिएको अध्ययनले पानीका स्रोतहरु स्वास्थ्यका हिसाबले जोखिमयुक्त भएको र त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको बताए।
खानेपानी तथा ढल निकास विभागका इन्जिनियर किरण दर्नालले खानेपानी र सरसफाइमा आमजनताको पहुँच बढे पनि पानीका मुहान भने संक्रमित बनिरहेको बताए। ‘पानीका स्रोत पनि सुक्दै गएका छन्,’ उनले भने, ‘यी सबै कुराको प्रत्यक्ष असर जनस्वास्थ्यमा परिरहेको छ।’
विज्ञहरुका अनुसार जलवायु परिवर्तन हुनुमा प्रमुख हिस्सा विकसित देशहरुको बढी भए पनि असरचाहिँ कम विकसित देशहरुमा परिरहेको छ।
जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावबारे अनुसन्धान गरिरहेको स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती सामना गर्ने कुरामा सुझाव दिन सम्मेलन गरेको थियो। सम्मेलनमा विज्ञहरूले स्वास्थ्य क्षेत्रमा परेका असरलाई सुरुमा सामना गर्ने र विस्तारै घटाउँदै जानेगरी नयाँ योजना आवश्यक रहेको बताए। जनस्वास्थ्य प्रणाली बलियो नभएका नेपाल जस्ता देशले दूरदृष्टि राखेर योजना बनाएर यस्ता चुनौतीलाई सामना गर्नुपर्ने विज्ञ सुझाव छ।
प्रकाशित: १६ चैत्र २०७४ ००:३० शुक्रबार