२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सुविधासम्पन्न ह्‍यांगरमा मर्मत गर्नेगरि पोखरा आउँदै थियो जहाज

काठमाडौंबाट पोखराका लागि उडान भरेको थियो सौर्य एयरलाइन्सको सीआरजे ७–९एनएएमई जहाजले। बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज नियमित मर्मतसम्भार र परीक्षणका लागि पोखरा आउँदै थियो।  

पोखरामा सौर्यको यतिबेला नियमित उडान भने छैन। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा राखेर नियमित मर्मतसम्भार र परीक्षण गर्नेगरि पोखरा आउने गरि सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति मागेको थियो। यो जहाजमा चालकदलका सदस्य सहित १९ जना सवार थिए। तीमध्ये अधिकांश सौर्य एयरलाइन्स आवद्ध रहेको प्राधिकरणले बताएको छ। जहाजमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको प्राधिकरणले पुष्टि गरिसकेको छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधासम्पन्न ह्यांगर छ। त्यही ह्यांगरमा राखेर प्राविधिक काम सहित परीक्षण गर्नेगरि जहाजले प्राधिकरणसँग अनुमति मागेको थियो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भनिन, ‘नियमित उडान नभएपनि प्राविधिक काम गरेर परीक्षणका लागि जहाजले प्राधिकरणसँग स्वीकृति लिएको थियो। त्यही तालिका अनुसार जहाज बुधबार पोखरा आउँदै थियो।’  

प्राधिकरणको पोखरामा आफ्नै ह्याङगर छ। त्यही ह्यांगरमा जहाजको सम्पूर्ण प्राविधिक काम हुन्छ र पोखराकै आकाशमा उडानको परीक्षण पनि हुन्छ। अहिले पनि पोखराको ह्यांगरमा एक निजी कम्पनिको जहाजको प्राविधिक काम भईरहेको छ। ‘अलि लामै समय पोखरामै रहनेगरि सौर्यको जहाज पोखरा आउँदै थियो,’ उनले भनिन, ‘सम्पूर्ण प्राविधिक परीक्षण हुने भएकोले समय र जनशक्ति बढी चाहिन्छ।’  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एकजना उच्च प्राविधिकका अनुसार पोखरामा तीनवटा जहाजको मर्मतसम्भार गर्न मिल्ने आकारको ह्यांगर छ। उनका अनुसार यस्तो ह्यांगर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ, नेपालगञ्ज विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छ। तर, पोखरामा रहेको ह्यांगर सुविधासम्पन्न रहेको उनले बताए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने र ठुला आकारमा जहाजको मर्मतसम्भार गर्नुपर्ने अवस्थाका लागि आवश्यक पर्नेगरि पोखरामा ह्यांगर बनाइएको हो। तर, अन्तर्राष्ट्रिय उडान नभएकोले ठुला जहाजको अहिलेसम्म मर्मतसम्भार र परीक्षण गर्नुपरेको छैन। तर, आन्तरिक उडानका जहाजको प्राविधिक काम पोखरामा हुने गरेको छ,’ उनले भने।  

लामो समय लगाएर जहाजको प्राविधिक काम गर्नुपर्ने भएकोले सौर्यको ठूलै जनशक्ति बुधबार पोखरा आउन थालेको उनले बताए। ‘त्यत्ति ठूलो आकारको जहाजको सम्पूर्ण प्राविधिक काम गर्ने चानचुने होईन। आवश्यक मर्मतसम्भार, पाटपुर्जाको फेरबदल देखि परीक्षण गर्ने काम सानो समूहले गर्नै सक्दैन,’ उनले भने, ‘त्यही भएर ठूलो जनशक्ति लिएर जहाज आउन थालेको थियो। छिटो गरि काम सक्नका लागि पनि यस्तो काममा ठूलै जनशक्ति खटिन्छ।’

उनका अनुसार जहाजका लागि आवश्यक पर्नसक्ने पाटपूर्जा पनि हवाई कम्पनि आफैले लिएर आएका हुन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँघुरो हुने भएपनि सौर्यको जहाज पोखरा आउँदै थियो। बुधबार दुर्घटनामा परेको सौर्यको जहाजको नियमित मर्मतसम्भारपछि पोखराकै आकाशमा परीक्षण उडान पनि गर्ने तयारी थियो। ‘मर्मतसम्भारले मात्र पुग्दैन। त्यसैले उडेर पनि परीक्षण गर्नुपर्छ। पोखराकै आकाशमा उडेर परीक्षण गर्ने तयारी थियो,’ उनले भने।  

परीक्षणका क्रममा भने नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुलाई राखेर उडाइन्छ। प्राधिकरणका प्राविधिकले उडानमा सबै पक्ष ठिक रहेको भनेर पास गरेपछि मात्र यात्रु राखेर उडान भर्न दिइन्छ। ‘पोखरामा परीक्षण उडान गर्न पनि सहज भएकोले जहाज पोखरा ल्याउन थालिएको हो, तर, दुर्भाग्य त्यही जहाज नै दुर्घटनामा परेर ठुलो क्षति बेहोर्नुपरेको छ,’ उनले भने। 

प्रकाशित: ९ श्रावण २०८१ १७:१८ बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्स