२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरलाई शैक्षिक केन्द्र बनाउन अभियान

शिक्षा मन्त्रालयबाहेक शिक्षासँग सम्बन्धित सबै सरकारी कार्यालय रहेको भन्दै भक्तपुरलाई शैक्षिक हब (शैक्षिक केन्द्र) बनाउने अभियान थालिएको छ। यसअन्तर्गत आइतबार नेपाल प्रेस सोसाइटी सूर्यविनायकले भक्तपुरलाई शैक्षिक हब बनाउन सरोकारवालासँग छलफल गरेको छ। शिक्षासँग सरोकार राख्ने भक्तपुरको हिसान, प्याब्सन, एन–प्याब्सन, इसान लगायतका संगठनका अध्यक्ष तथा नगरपालिकाका शिक्षा शाखाका प्रमुखसँग छलफल गरेको हो।

भक्तपुरलाई शैक्षिक हब बनाउन आफूले खेल्न सक्ने भूमिकाबारे कार्यक्रममा चर्चा गरिएको थियो। कार्यक्रमका सहभागीहरूले प्रत्येक वर्ष निरन्तर भक्तपुरका स्कुलहरूबाट एसइई, दस जोड दुई अनि त्यसमाथिको परीक्षा नतिजा पनि देशमै उत्कृष्टमध्येमा पर्ने भएकाले जिल्लालाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आयोजक नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरका अध्यक्ष एवं पत्रकार उपेन्द्र केसीले पत्रकार वा पत्रकारितासँग सम्बन्धित संस्थाहरूले पर्दा मात्रै उघारिदिने भएकाले कार्यान्वयनको पाटोमा सरोकारवालाहरूको ध्यान जानुपर्ने गराए। उनले भक्तपुर भौतिक पूर्वाधारदेखि लिएर परीक्षा नतिजासम्ममा पनि उत्कृष्ट नतिजा निकाल्न सफल जिल्ला भएकाले यसलाई औपचारिक रूपमै शैक्षिक हब बनाउनुपर्नेमा जोड दिए।

सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटवालले घोषित रूपमा नभए पनि अघोषित रूपमा भक्तपुर शैक्षिक हब भएको बताए। ‘हामीकहाँ एकदम महँगो शुल्कमा सेवासुविधाका साथ पढाउनेदेखि लिएर कम शुल्कमा गुणस्तरीय शिक्षा दिने ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजहरू छन्। यहाँ देश–विदेशका विद्यार्थी पढ्न आइरहेका छन्’, उनले भने, ‘यति मात्रै होइन, नेपाल इन्जिनियरिङ कलेज दुवाकोट अनि कानुनका लागि काठमाडौं स्कुल अफ ल दधिकोटमा छन्।

प्रकाशित: ७ श्रावण २०८१ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App