९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रेलमार्गको सर्भे गर्न आएको होइन् भन्दा पनि आगजनीमा उत्रिए स्थानीय

पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको भन्दै चितवनको भरतपुरमा गुगल म्याप अपडेटका लागि अध्ययन गर्न आएका निजी कम्पनीको गाडीमा आगजनी गरिएको छ।

आज (बुधबार) दिउँसो १ः४५ मिनेटमा भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगरपलटिङमा काठमाण्डौँको आरएस इन्जिनियरिङ सोलुसन प्रालिका कर्मचारी चढेको बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको कारमा स्थानीयले आगजनी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, गुगल म्यापको सर्भे गर्दै पुगेका बारा जितपुर सिमरा उपमहानगरपालिका बस्ने २१ वर्षीय अजित बस्नेत (नेभिगेटर) र धादिङ गल्छी गाउँपालिका ८ बस्ने ३५ वर्षीय का दिलीप तामाङ चढेको गाडीमा आक्रोशित भिडले आगोलागि गरेका हुन्।

उनीहरूको गाडी पूर्ण रुपमा क्षतविक्षत भएको छ। आगलागी भएपछि भरतपुर महानगरपालिकाको दमकल गएर कारमा लागेको आगो निभाएको थियो।

तर तीन दिनदेखि भरतपुरमा आएर गुगल म्यापको अपडेट गरिरहेको कार चालक तामाङले बताए। सर्भे गर्दै कृष्णपुरको नगरपलटिङमा पुग्दा आफूहरूलाई नियन्त्रणमा लिएको उनले बताए। ‘हामी गुगल म्याप अपडेट गर्न आएको तीन दिन भयो। हामी गाडीमा थियौँ। त्यहाँका चार पाँच जना मान्छेले छेकेर गाडी रोक्न भने,’ उनले भने, ‘हामीले रेलमार्ग अध्ययन गर्न आएका होइनौँ भनेर पेपर देखाउँदा पनि पत्याएनन्।’

उनीहरुले एक जनाको निजी घरमा लगेर आधा घण्टा नियन्त्रणमा राखेको उनले बताए। तर, गाडी जलाएको विषयमा आफूलाई थाहा नभएको उनको भनाइ छ।  ‘काम गर्दा गर्दै हामीलाई उनीहरूले रोके। हामीले अफिसमा फोन गरेर भन्यौँ। उताबाट प्रहरीलाई फोन गरेपछि हामीलाई प्रहरीले उद्धार ग¥यो,’ उनले भने ‘गाडी जलाएको विषयमा हामीलाई थाहा छैन।’ आवश्यक कागजपत्र र क्यामेरा गाडीमा नै रहेको उनले बताए।

यहाँका स्थानीयहरू प्रस्तावित रेलमार्गको विरोधमा छन्। उनीहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन्।  सरकारबाट अनुमति लिएर रेलमार्गको सर्भे गर्न आएको बताएपछि स्थानीयहरू आक्रोशित भएर गाडीमा आगजनी गरेको रेलमार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए।

‘उनीहरूसँग आधिकारिक कागजपत्र केही रैनछ। स्थानीयलाई रेल मार्गकै रैछ भन्नुभयो। मान्छेको भिडभाड बढ्यो,’ उनले भने ‘आक्रोशित भिडले गाडी नियन्त्रणमा लिएर जलाएछन्।’ घटनालाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ। गुगल म्याप अपडेट गर्न आएका दुई जनालाई प्रहरीले सुरक्षित राखेको छ।

घट्नालाई हेरेर आगजनी ऐन अन्तरगर्त मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। ‘अहिले हामीले घट्नाको अध्ययन गर्दै छौँ। संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर आगजनी ऐन अन्तरगर्त मुद्दा चलाउँछौँ’–उनले भने।

चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ। यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरूका बिचमा छलफलसमेत गरिएको थियो। त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो।

प्रकाशित: २ श्रावण २०८१ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App