१५ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

सिमलताल दुर्घटना: दुवै बसमा सवार ६५ यात्रुको विवरण सार्वजनिक (सूचीसहित)

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा यात्रु संख्या चलानमा भए बमोजिम २७ जना र आफन्तजनकाे सम्पर्कमा आई विवरण दिएको आधारमा ११ जना गरी जम्मा ३८ जना रहेको प्रशासनले जनाएको छ।

यसैगरी काठमाण्डौंबाट गौर तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा चलानमा भए बमोजिम २३ जना र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ४ जना गरी जम्मा २७ जना सवार रहेकाे प्रशासनले जनाएको छ।

दुवै बसमा गरी कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्। शवहरू नारायणी नदीदेखि भारतको गण्डक तालसम्म फेला परिरहेका छन्।

बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय समेत सुरु भएको छ। भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी सुरु गरिएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तर प्रदेशको महाराजगन्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको छ। यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए।

हालसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ।

दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ।

यसैगरी चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ।

उनीहरूको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन।

उनीहरूको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन्। घटनाको विषयमा अध्ययन गर्न गृह मन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ।

बेपत्ता बस खाेज्न भारतबाट विज्ञ ल्याइने

दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ। 

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले साेमबार नै भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए।

उनले घटना भएको पाँच दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको बताए। गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय सरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ।

दुवै बसमा सवार यात्रुको विवरण :

प्रकाशित: १ श्रावण २०८१ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App